काठमाण्डौ । बाराको सिमरामा तीन वर्षीया बालिकामाथि भएको बलात्कार तथा हत्या घटनामा पक्राउ परेका किशोरको भिडियो बयान सार्वजनिक भएको प्रकरणमा एक प्रहरी हवल्दारमाथि फौजदारी अनुसन्धान सुरु भएको छ।
प्रहरी हवल्दार कुमार विकविरुद्ध वैयक्तिक गोपनीयताको हकसम्बन्धी कसुर र विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको बाराका प्रहरी प्रमुख एसपी नरेन्द्र कुँवरले जानकारी दिएका छन्।
विकलाई सोमबार पक्राउ गरिएको थियो। प्रारम्भिक अनुसन्धानमा आरोपी किशोरलाई स्वास्थ्य परीक्षणका लागि लैजाने क्रममा खिचिएको भिडियो हवल्दारकै मोबाइलबाट बाहिरिएको देखिएको प्रहरीले जनाएको छ।
घटनामा पक्राउ परेका १६ वर्षीय किशोरले घटनाबारे दिएको भनिएको भिडियो बयान सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले त्यसको स्रोत र प्रसारण प्रक्रियाबारे अनुसन्धान थालेको थियो।
प्रहरीका अनुसार आरोपी किशोरलाई मेडिकल परीक्षणका लागि लैजाँदा हवल्दार विक सुरक्षा टोलीमा खटिएका थिए। त्यही क्रममा खिचिएको भिडियो उनले एक ‘कन्टेन्ट क्रिएटर’लाई पठाएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।
उक्त भिडियो त्यसपछि सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको थियो।
किशोर न्यायसम्बन्धी संवेदनशीलता र व्यक्तिगत गोपनीयताको विषय जोडिएकाले अनुसन्धानकै क्रममा रहेका नाबालकको बयान तथा दृश्य सार्वजनिक हुनु गम्भीर विषय मानिएको छ।
एसपी कुँवरका अनुसार भिडियो बाहिर ल्याउने कार्यमा हवल्दार एक्लै संलग्न थिए वा अन्य व्यक्तिको समेत भूमिका थियो भन्ने विषयमा अनुसन्धान भइरहेको छ।
“भिडियो लिक गर्ने काममा संलग्न अन्य व्यक्तिमाथि पनि अनुसन्धान भइरहेको छ,” उनले बताएका छन्।
प्रहरीले भिडियो प्राप्त गरेपछि त्यसलाई सामाजिक सञ्जालमा प्रसारण गर्ने व्यक्तिको मनसाय र भूमिकासमेत अनुसन्धानको दायरामा राखेको छ।
सामाजिक सञ्जालमा फैलिएको भिडियोमा आरोपी किशोरले घटनाबारे बोलिरहेको देखिन्छ भने आसपास प्रहरीसहित अन्य व्यक्तिहरू पनि देखिन्छन्। भिडियो कसले खिच्यो, कसरी बाहिरियो र कसरी प्रसारण भयो भन्ने विषय अहिले अनुसन्धानको केन्द्रमा रहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।