काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पदीय मर्यादाविपरीत गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा नापी कार्यालय पश्चिम नवलपरासी (परासी) मा कार्यरत सर्भेक्षक विन्देश्वर साह सुडीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले मंगलबार साहविरुद्ध ३ करोड ७१ लाख ८४ हजार ५५१ रुपैयाँ बिगो कायम गरी विशेष अदालत, काठमाण्डौमा आरोपपत्र दायर गरेको हो।
अख्तियारका अनुसार साहले २०४६ माघ १६ गते सरकारी सेवामा प्रवेश गरेदेखि २०८१ जेठ ३२ गतेसम्मको जाँच अवधिमा कुल ६ करोड ३ लाख ८५ हजार ३० रुपैयाँ वैधानिक आय आर्जन गरेको देखिएको छ। तर, सोही अवधिमा उनले जग्गा तथा शेयर खरिद, सवारीसाधन खरिद, ऋण–सापटी भुक्तानीलगायतका शीर्षकमा ९ करोड ७५ लाख ६९ हजार ५८१ रुपैयाँ खर्च तथा लगानी गरेको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ।
साहको वैधानिक आयभन्दा ३ करोड ७१ लाख ८४ हजार ५५१ रुपैयाँ बढी खर्च तथा लगानी भएको र उक्त रकमको स्रोतसमेत उनले पुष्टि गर्न नसकेको अख्तियारको दाबी छ।
अख्तियारका अनुसार साहले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति लुकाउने उद्देश्यले आफ्नी श्रीमती सुमिन्त्रा देवी साहको नाममा समेत जग्गा तथा अन्य क्षेत्रमा लगानी गरेको पाइएको छ।
गैरकानुनी रूपमा आर्जित सम्पत्ति जफत गर्ने प्रयोजनका लागि आयोगले सुमिन्त्रा देवीलाई समेत आरोपपत्रमा प्रतिवादी कायम गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।