काठमाण्डौ । चीनको तिब्बत क्षेत्रमा आएको बाढीको असर नेपालतर्फ समेत परेर ठूलो क्षति भएपछि चिनियाँ राष्ट्रपति सी चिनफिङले उद्धार तथा राहत कार्यलाई तीव्र बनाउन निर्देशन दिएका छन्।
सीले बेपत्ता व्यक्तिको खोजी तथा उद्धारलाई प्राथमिकता दिन, जोखिममा परेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण तथा पुनर्स्थापना गर्न र घाइतेहरूको तत्काल उपचार गरी मानवीय क्षति न्यूनीकरण गर्न सक्दो प्रयास गर्न निर्देशन दिएका हुन्।
उनले बाढी प्रभावित क्षेत्रमा अनुगमन र प्रारम्भिक चेतावनी प्रणालीलाई थप प्रभावकारी बनाउन तथा वैज्ञानिक ढंगले उद्धार कार्य सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन्। सम्भावित दोस्रो प्रकोप रोक्न जोखिमयुक्त क्षेत्रको निरन्तर निगरानी गर्नसमेत उनले सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
चाइना रेडियो इन्टरनेसनल (सीआरआई)ले उद्धृत गरेको निर्देशनमा सीले हाल बाढी रोकथामका दृष्टिले महत्वपूर्ण समय रहेको उल्लेख गर्दै सबै क्षेत्र र सम्बन्धित विभागलाई आवश्यक सावधानीका उपाय प्रभावकारी रूपमा कार्यान्वयन गर्न भनेका छन्।
‘विभिन्न जोखिम र लुकेका खतराहरूको अनुसन्धान तथा सुधारलाई बलियो बनाउनुपर्छ, ठूला प्रकोप र दुर्घटनालाई दृढतापूर्वक रोक्नुपर्छ र जनताको जीवन तथा सम्पत्तिको सुरक्षा सुनिश्चित गर्नुपर्छ,’ सीको निर्देशनमा भनिएको छ।
‘सम्बन्धित देशसँग समन्वय गरेर संयुक्त रूपमा उद्धार गर’
चिनियाँ प्रधानमन्त्री ली छियाङले पनि बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतलाई उच्च प्राथमिकतामा राख्न निर्देशन दिएका छन्।
उनले बेपत्ता व्यक्ति तथा विपद् प्रभावितको संख्या शीघ्र यकिन गर्न, उद्धार तथा राहतका लागि आवश्यक जनशक्ति र स्रोत परिचालन गर्न तथा जोखिममा परेका नागरिकलाई व्यवस्थित रूपमा सुरक्षित स्थानमा सार्न निर्देशन दिएका हुन्।
विशेषगरी लीले चिनियाँ विदेश मन्त्रालयलाई सीमापार प्रभावित देशहरूसँग समन्वय गर्न स्पष्ट निर्देशन दिएका छन्।
‘विदेश मन्त्रालयले सम्बन्धित देशहरूसँग सञ्चार र समन्वयलाई सुदृढ पार्नुपर्छ, तुरुन्तै अवस्थाबारे जानकारी आदानप्रदान गर्नुपर्छ र उद्धार कार्यलाई संयुक्त तथा उचित रूपमा सम्हाल्नुपर्छ,’ लीको निर्देशनमा भनिएको छ।
चीनको सीमावर्ती तिब्बत क्षेत्रबाट आएको बाढीले नेपालतर्फ भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा ठूलो प्रभाव पारेकाले लीको निर्देशन नेपालसँगको समन्वयका दृष्टिले समेत महत्वपूर्ण मानिएको छ।
निर्देशनपछि चिनियाँ उपप्रधानमन्त्री झाङ गुओकिङले उद्धार तथा राहत कार्यलाई प्रत्यक्ष मार्गदर्शन गर्न सम्बन्धित विभागका अधिकारीहरूलाई घटनास्थलतर्फ परिचालन गरेका छन्।
तिब्बततर्फको जलाधार क्षेत्रमा भएको घटनापछि भोटेकोशीमा एक्कासि ठूलो बाढी आएको र त्यसले नेपालका रसुवा, नुवाकोट, धादिङलगायत क्षेत्रमा ठूलो क्षति पुर्याएको अवस्थामा चीनले उच्च तहबाट उद्धार, चेतावनी र अन्तरदेशीय समन्वयमा जोड दिएको हो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।