काठमाण्डौ । तिब्बततर्फ बनेको ताल फुटेपछि भोटेकोशी नदीमा पानीको बहाव बढ्ने जोखिम देखिएसँगै नुवाकोट र रसुवामा उच्च सतर्कता अपनाइएको छ।
सम्भावित ठूलो बाढीको जोखिमलाई ध्यानमा राख्दै नुवाकोटको विदुर र त्रिशूली बजार क्षेत्रमा उद्धार तथा पुनःस्थापनामा खटिएका सुरक्षाकर्मी, डोजर तथा अन्य उपकरणलाई नदी किनार र क्षतिग्रस्त क्षेत्रबाट तत्काल सुरक्षित स्थानतर्फ सारिएको छ।
यसअघि बाढीले क्षति पुर्याएका सडक, संरचना तथा नदी किनार क्षेत्रमा उद्धार र मर्मतका काम भइरहेका थिए। तर माथिल्लो तटीय क्षेत्रबाट थप बाढी आउन सक्ने चेतावनीपछि जोखिमयुक्त क्षेत्रमा भइरहेको काम तत्काल रोकिएको हो।
रसुवामा सडक आवागमनसमेत बन्द
रसुवामा पनि सम्भावित बाढीलाई लिएर सुरक्षा व्यवस्था कडा बनाइएको छ।
रसुवामा खटिएका एसएसपी दीप शमशेर राणाका अनुसार सीमा क्षेत्र तथा नदी किनार भएर जाने सडकमा आवागमन पूर्ण रूपमा रोकिएको छ।
नदीको सतह बढ्न सक्ने जोखिमका कारण सुरक्षाकर्मीले सर्वसाधारणलाई नदी किनारमा जान नदिने र जोखिमयुक्त क्षेत्रमा रहेकालाई सुरक्षित स्थानमा सार्ने काम गरिरहेका छन्।
उद्धारकर्मीलाई समेत पछि हट्न निर्देशन
सम्भावित बाढीको जोखिम यति उच्च देखिएको छ कि यसअघि उद्धार तथा सडक खुलाउने काममा खटिएका जनशक्ति र भारी उपकरणसमेत नदी किनारबाट हटाइएको छ।
विदुर र त्रिशूली आसपासका क्षतिग्रस्त क्षेत्रमा परिचालित डोजर तथा अन्य उपकरण सुरक्षित स्थानमा पुर्याइएको छ भने उद्धारकर्मीलाई समेत जोखिमयुक्त ठाउँमा नबस्न निर्देशन दिइएको छ।
नदीको बहाव र पानीको सतहको अवस्था निरन्तर निगरानी भइरहेको छ।
प्रशासनले भोटेकोशी तथा त्रिशूली नदीको तल्लो तटीय क्षेत्रमा रहेका बासिन्दालाई विशेष सतर्कता अपनाउन, नदी किनारमा नजान र सम्भव भएसम्म सुरक्षित तथा अग्लो स्थानमा रहन आग्रह गरेको छ।
माथिल्लो क्षेत्रमा ताल फुटेको सूचना आएपछि थप बाढी आउन सक्ने त्रासका बीच रसुवा र नुवाकोटमा उद्धार तथा पुनःस्थापनाको कामसमेत अस्थायी रूपमा प्रभावित भएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।