काठमाण्डौ । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न जिल्लाबाट फेला परेका शवमध्ये ठूलो संख्याको अझै पहिचान हुन सकेको छैन।
नेपाल प्रहरीका अनुसार अहिलेसम्म कुल ४८९ जनाको शव फेला परेको छ। तीमध्ये ३९३ शवको पहिचान हुन बाँकी रहेको छ।
बाढीले बगाएका शव रसुवा, नुवाकोट, धादिङ, चितवन, तनहुँ, गोरखा र नवलपरासीलगायतका जिल्लाका विभिन्न स्थानमा फेला परेका छन्।
फेला परेका शवलाई सम्बन्धित जिल्लासँगै काठमाडौं, पोखरा, पाल्पा, रुपन्देही र कपिलवस्तुका अस्पताल तथा शवगृहमा समेत राखिएको प्रहरीले जनाएको छ।
ठूलो संख्यामा शव फेला परे पनि पहिचान हुन नसक्दा प्रशासन र सुरक्षाकर्मीलाई शव व्यवस्थापनमा समेत चुनौती थपिएको छ।
शवको हुलिया, तस्बिर, कपडा तथा अन्य संकेतका आधारमा पहिचानको प्रयास भइरहेको छ। प्रत्यक्ष रूपमा पहिचान हुन नसकेका शवको हकमा डीएनए परीक्षणलगायतका प्रक्रिया अपनाइने तयारी छ।
बाढीले मानिसलाई लामो दूरीसम्म बगाएर विभिन्न जिल्लामा पुर्याएकाले शव पहिचान प्रक्रिया थप जटिल बनेको हो।
प्रहरी तथा सम्बन्धित निकायले बेपत्ता आफन्तको खोजीमा रहेका परिवारलाई आवश्यक विवरणसहित सम्पर्कमा आउन आग्रह गरेका छन्।
भोटेकोशी–त्रिशूली बाढीपछि शव फेला पर्ने क्रम जारी रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने देखिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।