काठमाडौं । भोटेकोशी बाढीबाट तहसनहस रसुवासहितका प्रभावित क्षेत्रको उद्धार, राहत र पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा शुक्रबार एकैदिन ३८ करोड ५६ लाख रुपैयाँभन्दा बढी सहयोग जुटेको छ।
विपत्तिपछि सरकारको राहत कोषमा रकम जम्मा गर्ने संस्था तथा व्यक्तिको लर्को लागेको हो। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमार्फत विभिन्न २७ संस्था तथा व्यक्तिले शुक्रबार कुल ३८ करोड ५६ लाख ६४ हजार २२२ रुपैयाँ कोषमा हस्तान्तरण गरेका छन्।
एकैदिन प्राप्त सहयोगमध्ये सूर्य नेपाल प्रालिको योगदान सबैभन्दा ठूलो छ। कम्पनीले एक्लैले १५ करोड रुपैयाँ सहयोग गरेको छ। यो शुक्रबार संकलित कुल रकमको झन्डै ३९ प्रतिशत हो।
प्राइम कमर्सियल बैंकले ३ करोड १० लाख, कृषि विकास बैंकले ३ करोड, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २ करोड ५१ लाख तथा मोरङ अटो वर्क्सले १ करोड ११ लाख रुपैयाँ कोषमा जम्मा गरेका छन्।
राजी राणाले व्यक्तिगत रूपमा १ करोड ९ लाख ८० हजार रुपैयाँ योगदान गरेकी छन्। हिमालयन बुलियन कम्पनी र एसियन लाइफ इन्स्योरेन्सले समान १ करोड १ लाख रुपैयाँ प्रदान गरेका छन्।
उद्योगी विजयकुमार शाह, पद्मज्योति समूहअन्तर्गतको स्याकार ट्रेडिङ, सूर्यज्योति लाइफ इन्स्योरेन्स, डब्लूडब्लूएफ नेपाल, जावलाखेल डिस्टिलरी, हिमालयन डिस्टिलरी, अल्फा अटोमोटिभ, एग्रो थाई फुड्स र सोलु हाइड्रोपावरले एक–एक करोड रुपैयाँ सहयोग गरेका छन्।
त्यसैगरी, नेपाल सिमेन्ट उत्पादक संघले ५१ लाख, मुक्तिनाथ विकास बैंकले ५० लाख र लुम्बिनी विकास बैंकले २५ लाख रुपैयाँ कोषमा जम्मा गरेका छन्। एबाकस इन्साइट्सले १५ लाख तथा नेपाल चिया विकास निगमले ११ लाख रुपैयाँ योगदान दिएका छन्।
सीएएस ट्रेडिङ हाउस र सिल्भर लाइनिङ प्रालिले समान १ लाख ११ हजार रुपैयाँ सहयोग गरेका छन्। अन्य तीन संस्थाबाट संयुक्त रूपमा २६ लाख ६२ हजार रुपैयाँ प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ।
बैंक तथा बीमा कम्पनीसँगै मदिरा, अटोमोबाइल, जलविद्युत्, सिमेन्ट, कृषि र अन्य व्यावसायिक क्षेत्रसमेत राहत अभियानमा जोडिएका छन्। व्यक्तिगत तहबाट पनि करोड रुपैयाँभन्दा बढी सहयोग आउनुले राष्ट्रिय विपत्तिमा निजी क्षेत्र र नागरिकस्तरबाट देखिएको ऐक्यबद्धतालाई उजागर गरेको छ।
भोटेकोशीमा आएको विनाशकारी बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएपछि प्रभावितहरूको खोज, उद्धार, उपचार, तत्काल राहत र दीर्घकालीन पुनर्स्थापनाका लागि सरकारलाई ठूलो स्रोत आवश्यक परेको छ। शुक्रबार एकैदिन जुटेको साढे ३८ करोड रुपैयाँभन्दा बढी सहयोगले राहत अभियानमा महत्वपूर्ण आर्थिक बल थपेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।