काठमाडौं। भोटेकोशी नदीमा पुनः बाढी बढेको सूचना प्राप्त भएपछि सरकारले त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आपतकालीन चेतावनी जारी गरेको छ।
नेपाल बाढी सूचना केन्द्रले शुक्रबार राति १२ बजेर ४९ मिनेटमा सार्वजनिक गरेको सूचनाअनुसार जिल्ला प्रहरी कार्यालय रसुवाले चीनतर्फबाट भोटेकोशीमा पुनः बाढी बढेको जानकारी प्राप्त गरेको हो।
बाढीको बहाव तल्लो तटीय क्षेत्रतर्फ बढ्न सक्ने भएकाले त्रिशूली नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान आग्रह गरिएको छ। विशेषगरी रसुवाबाट नुवाकोट र धादिङ हुँदै मुग्लिनसम्मको नदी तटीय क्षेत्रलाई उच्च जोखिममा राखेर चेतावनी जारी गरिएको हो।
सम्बन्धित क्षेत्रका नागरिकलाई नदी किनार, डुबान हुन सक्ने भूभाग, कमजोर संरचना तथा जोखिमयुक्त बस्ती छाडेर सुरक्षित स्थानमा बस्न अनुरोध गरिएको छ। अर्को आधिकारिक सूचना जारी नभएसम्म उच्च सतर्कता कायम राख्नसमेत सरकारले आग्रह गरेको छ।
भोटेकोशीमा आएको यसअघिको भीषण बाढीले रसुवा, नुवाकोट, धादिङलगायत तल्लो तटीय क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको थियो। उद्धार तथा राहतको काम जारी रहेकै समयमा पुनः बाढी बढेको सूचना आएपछि जोखिमयुक्त क्षेत्रका नागरिकमा थप त्रास उत्पन्न भएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।