काठमाण्डौ । त्रिशूली ३ए जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको उद्धार प्रयास निर्णायक चरणमा पुगेको छ। उद्धारमा खटिएको टोली सुरुङको माथिल्लो भाग अर्थात् ‘क्राउन’सम्म पुग्न सफल भएको गृहमन्त्री सुदन गुरुङले जानकारी दिएका छन्।
गृहमन्त्री गुरुङले सार्वजनिक सूचना जारी गर्दै सुरुङमा बनाइएको सानो प्वालबाट हावा पठाउन सुरु गरिएको बताएका छन्। अब उक्त भागलाई थप खनेर उद्धार टोली सुरुङभित्र प्रवेश गराउने तयारी भइरहेको उनको भनाइ छ।
‘हामी सुरुङको माथिल्लो भाग (क्राउन)सम्म पुग्न सफल भएका छौँ। उक्त सानो प्वालबाट हावा पठाउन सुरु गरिसकेका छौँ,’ गुरुङले भनेका छन्, ‘अब खन्ने काम सुरु गरी उद्धार टोली पनि भित्र पठाउनेछौँ।’
यो प्रगतिसँगै सुरुङभित्र फसेकाहरूको उद्धार हुने आशा थप बलियो बनेको छ। यद्यपि, उद्धार टोली भित्र पुगेर प्रत्यक्ष सम्पर्क नगरेसम्म सुरुङभित्रको वास्तविक अवस्था स्पष्ट हुने छैन।
भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली ३ए आयोजनाको सुरुङ क्षेत्रमा फसेकाहरूलाई बाहिर निकाल्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा प्राविधिक टोली निरन्तर परिचालित छन्। उद्धार कार्यमा सहयोग गर्न चीनबाट आएका सुरुङ विज्ञहरू पनि घटनास्थलमा खटिएका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।