काठमाण्डौ । नेपालका विभिन्न क्षेत्रमा हालै आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई आर्थिक सहयोग पुर्याउन सिटी एक्सप्रेसले विश्वका विभिन्न मुलुकबाट नेपाल पैसा पठाउँदा लाग्ने सेवा शुल्क पूर्ण रूपमा मिनाहा गर्ने घोषणा गरेको छ।
कम्पनीका अनुसार विपद्को कठिन समयमा विदेशमा रहेका नेपालीले आफ्ना परिवार तथा प्रभावित आफन्तलाई सहज, छिटो र पूर्ण रकमसहित आर्थिक सहयोग पठाउन सकून् भन्ने उद्देश्यले बाढी आएको दिनदेखि नै उक्त विशेष सुविधा लागू गरिएको हो।
यो सुविधा अन्तर्गत खाडी क्षेत्रका संयुक्त अरब इमिरेट्स (यूएई), साउदी अरब, कतार, कुवेत र ओमानलगायतका मुलुकबाट नेपाल पठाइने रेमिट्यान्समा कुनै सेवा शुल्क लाग्ने छैन।
त्यसैगरी एसिया–प्रशान्त क्षेत्रअन्तर्गत जापान, दक्षिण कोरिया, मलेसिया र अष्ट्रेलियाबाट नेपाल पैसा पठाउँदा पनि सेवा शुल्क नलाग्ने कम्पनीले जनाएको छ।
युरोपतर्फ बेलायत, रोमानिया, पोर्चुगल, माल्टा, डेनमार्क, क्रोएसिया, स्विडेन, नर्वे, जर्मनी र फ्रान्समा रहेका नेपालीले समेत यो सुविधाबाट लाभ लिन सक्नेछन्। न्युजिल्यान्डबाट पठाइने रेमिट्यान्समा पनि सेवा शुल्क नलाग्ने व्यवस्था गरिएको छ।
सिटी एक्सप्रेसका अनुसार विश्वभर फैलिएका आफ्ना सेवा सञ्जाल तथा अन्तर्राष्ट्रिय साझेदार च्यानलमार्फत समेत निःशुल्क रेमिट्यान्स सुविधा लागू गरिएको छ।
कम्पनीले यसबाट विदेशमा रहेका नेपालीलाई बाढीपहिरो प्रभावित परिवार तथा आफन्तसम्म तत्काल आर्थिक सहयोग पुर्याउन सहज हुने विश्वास लिएको छ।
सिटी एक्सप्रेसले विपद्को समयमा विदेशमा रहेका नेपालीलाई उपलब्ध निःशुल्क सेवाको अधिकतम उपयोग गर्दै नेपालमा रहेका आफ्ना परिवार तथा प्रभावित समुदायलाई सहयोग गर्न आग्रह गरेको छ।
कम्पनीले विगत २० वर्षदेखि विश्वका विभिन्न मुलुकबाट नेपालमा रेमिट्यान्स सेवा प्रदान गर्दै आएको जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।