काठमाण्डौ । काठमाडौंका लागि अत्यावश्यक सामग्रीको आपूर्ति प्रभावित हुन नदिन सरकारले हेटौँडाहुँदै त्रिभुवन राजपथ (बाइरोड) बाट ढुवानी गर्ने तयारी थालेको छ।
कृष्णभीरमा सडक भासिएपछि मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध हुँदा काठमाडौंका लागि अत्यावश्यक सामग्रीको ढुवानी प्रभावित हुने अवस्था आएको हो। त्यसलाई मध्यनजर गर्दै सरकारले विशेषगरी पेट्रोलियम पदार्थ बाइरोडको बाटोबाट ल्याउने तयारी अघि बढाएको हो।
यसअघि भोटेकोशीमा आएको बाढीका कारण मुग्लिन जाने सडक तीन दिन अवरुद्ध भएको थियो। सडक सञ्चालनमा आए पनि कृष्णभीरमा सडक भासिएपछि पुनः मुग्लिन–नारायणगढ सडकखण्ड बन्द भएको छ।
अत्यावश्यक सामग्रीको आपूर्ति प्रभावित हुन नदिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले वैकल्पिक व्यवस्थामार्फत काम गरिरहेको जनाएको छ।
मन्त्रालय स्रोतका अनुसार हाल कुनै पनि वस्तुको आयात रोकिएको छैन। मुग्लिनको बाटो बन्द भए पनि अन्य वैकल्पिक मार्गबाट अत्यावश्यक वस्तुको आयात भइरहेको छ।
मन्त्रालयले अहिले पेट्रोलियम पदार्थको आपूर्तिलाई विशेष प्राथमिकता दिएको छ। नेपाल आयल निगमका अनुसार हिजो १२ लाख लिटर पेट्रोल र ६ लाख लिटर डिजेल बिक्री वितरण भएको थियो।
ढुवानीका ठूला सवारीसाधन कम सञ्चालन भएका कारण पछिल्लो समय डिजेलको माग केही घटेको निगमले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।