काठमाण्डौ । रसुवाको बाढी प्रभावित क्षेत्र गोसाईंकुण्ड गाउँपालिका–लिङलिङमा झाडापखालाका बिरामी देखिन थालेका छन्। विपद्पछि खानेपानी, सरसफाइ र आधारभूत स्वास्थ्य सेवामा समस्या उत्पन्न भइरहेका बेला यस्ता बिरामी भेटिन थालेपछि चिकित्सकहरूले थप सतर्कता अपनाउन आग्रह गरेका छन्।
राष्ट्रिय ट्रमा सेन्टरको चिकित्सकीय टोली नेपाली सेनाको सहयोगमा लिङलिङ क्षेत्रमा उपचारमा खटिएको छ। उपचारमा संलग्न डा. सरोजकुमार गोहिवारका अनुसार हालसम्म दुई–चार जनामा झाडापखालाको समस्या देखिएको छ।
बाढीपछि खानेपानीका स्रोत दूषित हुने सम्भावना उच्च हुने भएकाले झाडापखाला तथा अन्य पानीजन्य रोग फैलिन सक्ने जोखिमप्रति चिकित्सक टोलीले स्थानीयलाई सचेत गराइरहेको छ।
विशेषगरी सुरक्षित खानेपानी प्रयोग गर्न, पानी उमालेर वा शुद्धीकरण गरेर मात्र पिउन तथा व्यक्तिगत र सामुदायिक सरसफाइमा विशेष ध्यान दिन आग्रह गरिएको छ।
चिकित्सकीय टोलीका अनुसार विपत्तिपछि धेरै नागरिकमा डर, त्रास र मानसिक आघातसँग सम्बन्धित लक्षणसमेत देखिएका छन्। आफन्त गुमाएका, घरबार क्षतिग्रस्त भएका तथा लगातार जोखिममा बसेका नागरिकमा मानसिक तनावको समस्या बढेको चिकित्सकहरूको भनाइ छ।
यसैगरी पहिलेदेखि उच्च रक्तचाप, मधुमेह तथा घुँडासम्बन्धी समस्या भएका बिरामीले नियमित औषधि नपाउने अवस्था पनि देखिएको छ।
बाढीले यातायात र आपूर्ति प्रणाली प्रभावित हुँदा नियमित औषधि, खाद्यान्न तथा अन्य अत्यावश्यक सामग्रीको अभाव देखिएको छ। विद्युत् सेवा अवरुद्ध हुँदा मोबाइल चार्ज गर्नसमेत कठिनाइ भएको स्थानीयले बताएका छन्।
चिकित्सकहरूले अहिले देखिएका केही झाडापखालाका घटनालाई तत्काल महामारीका रूपमा बुझ्न नहुने भए पनि दूषित पानी र कमजोर सरसफाइका कारण संक्रमण फैलिन नदिन सुरुदेखि नै सतर्कता र निगरानी आवश्यक रहेको बताएका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।