काठमाण्डौ । रसुवाको बाढीमा बेपत्ता भएका आफन्तको खोजीमा रहेका परिवारले फेला परेका शव वा शरीरका अंग आफ्ना आफन्तकै हुन् कि होइनन् भनेर पहिचान गर्न डीएनए परीक्षणका लागि नमुना दिन सक्ने भएका छन्।
नेपाल प्रहरीले डीएनए जाँचका लागि रगतको नाता पर्ने व्यक्तिको नमुना उपलब्ध गराउन आग्रह गरेको छ।
प्रहरीका अनुसार बेपत्ता व्यक्तिका बाबु, आमा, छोरा वा छोरीजस्ता रक्तसम्बन्धी आफन्तले डीएनए नमुना दिन सक्छन्। नमुना दिन महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालको प्रयोगशाला वा आफूलाई पायक पर्ने जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न सकिनेछ।
डीएनए नमुना संकलनका क्रममा नमुना दिने व्यक्तिको दुई प्रति पासपोर्ट साइज फोटो पनि आवश्यक पर्ने प्रहरीले जनाएको छ।
आफन्त विदेशमा भए के गर्ने ?
बेपत्ता व्यक्तिका नजिकका रक्तसम्बन्धी आफन्त विदेशमा रहेको अवस्थामा पनि डीएनए प्रोफाइलिङ गर्न सकिने व्यवस्था गरिएको छ।
विदेशमा रहेका बाबु, आमा, छोरा वा छोरीमध्ये कुनै एक जनाले त्यहीँ डीएनए प्रोफाइलिङ गराएर त्यसको सफ्टकपी नेपाल प्रहरीलाई पठाउन सक्नेछन्।
प्रहरीका अनुसार विदेशबाट गरिएको डीएनए प्रोफाइलिङको विवरण [email protected] मा पठाउन सकिनेछ।
बाढीपछि ठूलो संख्यामा शव तथा शरीरका अंग फेला परे पनि धेरैको पहिचान हुन बाँकी रहेकाले वैज्ञानिक विधिबाट सनाखत गर्न डीएनए परीक्षणलाई तीव्र बनाइएको हो।
बेपत्ता आफन्तको खोजीमा रहेका परिवारलाई आवश्यक कागजात र रक्तसम्बन्धी व्यक्तिको नमुनासहित प्रहरीसँग सम्पर्क गर्न आग्रह गरिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।