काठमाण्डौ । बाढी तथा पहिरोको जोखिम बढेपछि चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ। चिनियाँ पक्षले सिन्धुपाल्चोकको लिपिङ क्षेत्रमा पहिरोको जोखिम कायम रहेकाले व्यापारिक गतिविधि तत्काल सञ्चालन गर्न नसकिने जनाएको हो।
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण नेपालको अर्को प्रमुख उत्तरी नाका रसुवागढी पनि प्रभावित छ। बाढीले रसुवाको टिमुरे बजारसँगै भन्सार तथा अध्यागमन कार्यालयमा समेत ठूलो क्षति पुर्याएपछि उक्त नाका पनि व्यापारिक गतिविधिका लागि ठप्प रहेको छ।
ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी निरौलाका अनुसार लिपिङ क्षेत्रमा पहिरोको जोखिम स्थिर नभएसम्म चिनियाँ पक्षले तातोपानी नाकाबाट व्यापारिक गतिविधि सुचारु गर्ने सम्भावना न्यून छ। यद्यपि, यात्रुहरूको आवतजावत भने जारी रहनेछ।
रसुवागढी र तातोपानी दुवै प्रमुख उत्तरी नाका बन्द भएपछि नेपाल–चीन व्यापारका लागि कोरला नाका मात्रै सञ्चालनमा रहेको प्रमुख विकल्प बनेको छ। दुई प्रमुख नाका अवरुद्ध हुँदा चीनसँगको आयात–निर्यात तथा सीमावर्ती व्यापारमा थप असर पर्ने देखिएको छ।
प्राकृतिक विपद्का कारण उत्तरी सीमाका व्यापारिक पूर्वाधारमा क्षति पुगेपछि नेपालतर्फ आपूर्ति व्यवस्थापन र व्यापारिक गतिविधि प्रभावित हुने अवस्था सिर्जना भएको छ। नाका कहिलेबाट पूर्णरूपमा सञ्चालनमा आउने भन्ने विषय भने पहिरो तथा बाढीको जोखिम र आवश्यक पूर्वाधार मर्मतमा निर्भर रहनेछ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।