काठमाण्डौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका कामदारको उद्धार अझै सफल हुन सकेको छैन। उद्धार अभियान लम्बिँदै जाँदा अब फिल्डमा खटिएका प्राविधिकहरूले नै बाहिर सार्वजनिक भइरहेका विवरण र वास्तविक अवस्थाबीच ठूलो अन्तर रहेको भन्दै गम्भीर प्रश्न उठाएका छन्।
नेपाल विद्युत् प्राधिकरणका इन्जिनियर प्रणय मगरले पर्याप्त उपकरण नपाउँदा उद्धारमा अपेक्षित गति आउन नसकेको बताएका छन्। उनका अनुसार सुरुदेखि नै तीनदेखि चारवटा स्काभेटर, ब्रेकर, जेनेरेटर र पानी तान्ने पम्प आवश्यक रहेको जानकारी गराइएको थियो। तर आवश्यक संख्यामा उपकरण घटनास्थलमा उपलब्ध हुन सकेनन्।
उनले बाहिर तीनवटा स्काभेटर निरन्तर चलेको विवरण आए पनि वास्तविकता फरक रहेको बताएका छन्।
“तीनवटा स्काभेटर दिनरात चल्यो, तर समाचारमा मात्रै चल्यो। फिल्डमा एउटा मात्रै चल्यो,” मगरले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको विवरणमा भनेका छन्।
उनका अनुसार पर्याप्त उपकरण, जनशक्ति र प्राविधिकको सुझावअनुसार काम गर्ने वातावरण तत्काल तयार भएको भए उद्धार अभियान धेरै अगाडि बढ्न सक्थ्यो।
उद्धार अभियानमा प्रत्यक्ष खटिएका मगरले मन्त्री तथा सांसदलाई समेत प्राविधिकको सुझावअनुसार काम गर्न आग्रह गरेका छन्। आवश्यक सामग्री साइटमै नपुग्दा जोखिम मोलेर काम गरिरहेका प्राविधिक र उद्धार टोली थप समस्यामा परेको उनको भनाइ छ।
सुरुङभित्र जाने बाटो नै खुलेन
सोमबार रातिसम्म पनि सुरुङभित्र मानिस प्रवेश गर्न सक्ने सुरक्षित ‘एक्सेस’ तयार हुन सकेको थिएन।
मुख्य पोर्टलबाट सुरुङभित्र जान सक्ने अवस्था नभएपछि वैकल्पिक बाटो खोजिएको थियो। पोर्टलभन्दा करिब १० मिटर पछाडिबाट सुरुङको माथिल्लो भागमा मानिस छिर्न सक्ने प्वाल बनाउने प्रयास गरिएको थियो।
तर सुरुङभित्र बाक्लो रिबार तथा टाइरड रहेकाले मानिस छिर्न मिल्ने आकारको प्वाल बनाउनसमेत कठिन भइरहेको प्राविधिकहरूको भनाइ छ। रिबार काट्ने काम जारी रहे पनि सुरुङभित्र पानी जमेकाले अर्को समस्या थपिएको छ।
पानी हटाउन पर्याप्त क्षमताको पम्प र त्यसलाई चलाउने जेनेरेटर आवश्यक रहेको बताइएको छ।
‘अक्सिजन पठाइएको छैन’
उद्धार अभियानलाई लिएर मन्त्री तथा सांसदबाट सार्वजनिक भएका केही सूचनाप्रति समेत फिल्डमा रहेका प्राविधिकले आपत्ति जनाएका छन्।
सामाजिक सञ्जाल र सञ्चारमाध्यममा ‘टनेल खोलिएको’ तथा ‘भित्र अक्सिजन पठाइएको’ विवरण सार्वजनिक भए पनि इन्जिनियर मगरले ती विवरणलाई अस्वीकार गरेका छन्।
उनले आफू प्रत्यक्ष घटनास्थलबाट अपडेट गरिरहेको उल्लेख गर्दै सुरुङभित्र अक्सिजन पठाउन सकिने अवस्था अझै नबनेको बताएका छन्।
उनका अनुसार गलत वा समयअगावै सार्वजनिक हुने सूचनाले उद्धारको वास्तविक अवस्थाबारे भ्रम सिर्जना गर्न सक्छ।
पहिलो विस्फोट पनि सफल भएन
मुख्य प्रवेशद्वारबाट सुरुङभित्र पुग्न नसकिएपछि माथिल्लो भागबाट वैकल्पिक प्रवेशद्वार बनाउने प्रयास गरिएको थियो। आइतबार सुरुङको क्राउन क्षेत्रमा पहिलोपटक विस्फोट गरिए पनि त्यसबाट अपेक्षित सफलता प्राप्त हुन सकेन।
त्यसपछि सुरुङको संरचना, पानीको अवस्था र सुरक्षित प्रवेशमार्गलाई ध्यानमा राख्दै अर्को विकल्पमा काम भइरहेको छ।
प्राविधिकका अनुसार अहिलेको सबैभन्दा ठूलो चुनौती सुरुङसम्म सुरक्षित पहुँच बनाउनु र त्यसका लागि चाहिने उपकरण तथा जनशक्ति तत्काल घटनास्थलमा उपलब्ध गराउनु हो।
उद्धार अभियान दिन लम्बिँदै जाँदा सुरुङभित्र फसेकाहरूका परिवारको प्रतीक्षा थप पीडादायी बन्दै गएको छ। अर्कोतर्फ, फिल्डमा खटिएका प्राविधिकको गुनासोले उद्धार अभियानमा उपकरण व्यवस्थापन, सूचना प्रवाह र सरकारी निकायबीचको समन्वयमाथि समेत प्रश्न उठाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।