काठमाण्डौ । रसुवाको विनाशकारी बाढीमा मृत्यु हुनेको संख्या एक हजार ५८ पुगेको छ। नेपाल प्रहरीले मंगलबार दिउँसो २ बजेसम्म सार्वजनिक गरेको विवरणअनुसार विभिन्न स्थानबाट हालसम्म १,०५८ शव तथा मानव अंग फेला परेका हुन्।
प्रहरीका अनुसार फेला परेकामध्ये ३० बालक, ३५ बालिका, २३२ महिला र ३७१ पुरुषका शव छन्। त्यसबाहेक ३९० वटा आंशिक मानव अंगसमेत फेला परेको जनाइएको छ।
हालसम्म ९७२ शव तथा अवशेषको लास जाँच मुचुल्कासम्बन्धी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
पहिचान खुलेका शवमध्ये ५८ वटा परिवार तथा आफन्तको जिम्मा लगाइएको छ। पहिचान खुल्न नसकेका ६८४ शवलाई आवश्यक प्रक्रिया पूरा गरी जमिनमुनि सुरक्षित रूपमा व्यवस्थापन गरिएको प्रहरीको विवरण छ।
बाढी प्रभावित क्षेत्रमा शव तथा मानव अवशेष फेला पर्ने क्रम अझै रोकिएको छैन। सुरक्षाकर्मीले नदी किनार, बस्ती, जंगल तथा सम्भावित क्षेत्रमा खोजी अभियानलाई निरन्तरता दिएका छन्।
प्रहरीको पछिल्लो तथ्यांकअनुसार अझै ४ हजार ६०६ जना सम्पर्कविहीन छन्।
सम्पर्कविहीनको संख्या ठूलो रहेकाले मृतकको संख्या थप बढ्न सक्ने आशंकाबीच खोजी, शव पहिचान, डीएनए परीक्षण तथा आफन्तसँग विवरण मिलाउने काम एकैसाथ भइरहेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।