काठमाण्डौ । गत भदौ ३ गते नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर नियुक्त भएका दीर्घबहादुर रावलको सम्पत्ति विवरण सार्वजनिक भएको छ। सार्वजनिक विवरणमा रावल, उनकी श्रीमती, आमाछोरा÷छोरीका नाममा रहेको घरजग्गा, बैंक मौज्दात, सुनचाँदी, सेयर, सवारीसाधन, बीमा तथा अन्य वित्तीय सम्पत्तिको विवरण समेटिएको छ।
विवरणअनुसार परिवारको अधिकांश अचल सम्पत्ति पैतृक रहेको छ भने पछिल्लो समय खरिद गरिएको भक्तपुरको घर बैंक ऋण, स्वआर्जन र पुरानो घरजग्गा बिक्रीबाट प्राप्त रकमबाट खरिद गरिएको उल्लेख छ।
रावलकी श्रीमतीको नाममा भक्तपुरको मध्यपुर थिमी–२, दिव्यश्वरी प्लानिङमा १९१ वर्गमिटर क्षेत्रफलमा बनेको घर रहेको छ। विवरणअनुसार उक्त घर २०७७ फागुनमा १ करोड ८० लाख रुपैयाँमा खरिद गरिएको हो।
रावलले घर खरिदका लागि बैंक ऋण, स्वआर्जन तथा पुरानो घरजग्गा बिक्रीबाट प्राप्त रकम प्रयोग गरिएको बताएका छन्।
उनकी आमाको नाममा कैलालीको टीकापुरमा १ कठ्ठा र अछामको बान्नीगढी जयगढमा १ रोपनी जग्गामा बनेका घर छन्। यी दुवै घरलाई पैतृक सम्पत्तिका रूपमा उल्लेख गरिएको छ।
जग्गातर्फ आमाको नाममा टीकापुरमा २ बिघा १ कठ्ठा तथा बान्नीगढी जयगढमा करिब ४५ रोपनी जग्गा रहेको छ। धनगढीमा ३३८।६३ वर्गमिटरका दुई कित्ता जग्गासमेत परिवारका सदस्यका नाममा रहेको विवरणमा उल्लेख छ।
रावलको आफ्नै नाममा कैलालीमा १ कठ्ठा जग्गा छ भने श्रीमतीको नाममा करिब ६ लाख रुपैयाँ लागतको जग्गा रहेको छ।
रावलको नाममा विभिन्न वाणिज्य बैंकमा गरी ११ लाख ४९ हजार २१४ रुपैयाँ मौज्दात रहेको छ। त्यस्तै, उनका बैंक खातामा १४ हजार २३ अमेरिकी डलर रहेको विवरणमा उल्लेख छ।
रावलले नेपाली रुपैयाँ तथा अमेरिकी डलरको बचत पारिश्रमिक, वैदेशिक तालिम तथा भ्रमणबाट प्राप्त रकमबाट भएको खुलाएका छन्।
श्रीमतीको नाममा बैंक तथा वित्तीय संस्थामा ३ लाख ८४ हजार ९२७ रुपैयाँ मौज्दात छ। उक्त रकम घरभाडाबाट प्राप्त भएको उल्लेख गरिएको छ। रावलको नाममा ४० हजार रुपैयाँ नगदसमेत रहेको छ।
रावलको परिवारसँग २५ तोला सुन र २ किलो चाँदी रहेको सम्पत्ति विवरणमा उल्लेख छ। उक्त सुनचाँदी पैतृक तथा स्वआर्जनबाट प्राप्त भएको बताइएको छ।
परिवारसँग १ लाख रुपैयाँ मूल्य पर्ने हिराको औंठीसमेत रहेको छ। रावलको नाममा विभिन्न बैंक तथा वित्तीय संस्थाका ७७० कित्ता साधारण सेयर छन्।
उनकी श्रीमतीको नाममा बैंक तथा वित्तीय संस्थाका २७ हजार ५६७ कित्ता, बीमा कम्पनीका १३० कित्ता, जलविद्युत् कम्पनीका २ हजार ३७९ कित्ता तथा डिस्टिलरी कम्पनीका १ हजार कित्ता सेयर रहेको विवरणमा उल्लेख छ।
छोराछोरीका नाममा समेत बैंक तथा वित्तीय संस्था र जलविद्युत् कम्पनीका साधारण सेयर रहेको जनाइएको छ। रावलका छोराको नाममा २०८२ सालमा खरिद गरिएको होण्डा स्कुटर रहेको छ। यसको खरिद मूल्य १ लाख ९५ हजार ४ सय रुपैयाँ उल्लेख गरिएको छ।
सम्पत्ति विवरणमा रावलले नेपाल राष्ट्र बैंक कर्मचारी विनियमावलीअनुसार आफूले ५० लाख रुपैयाँसम्म कर्जा तथा सापटी सुविधा लिन सक्ने व्यवस्था रहेकोसमेत उल्लेख गरेका छन्।
परिवार तथा व्यक्तिगत रूपमा एलआईसी नेपाल र राष्ट्रिय बीमा संस्थानमा बीमा रहेको तथा अवकाश कोषसम्बन्धी रकमसमेत रहेको विवरणमा उल्लेख छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।