काठमाण्डौ । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले भोटेकोशी बाढीमा कर्तव्य निर्वाहका क्रममा ज्यान गुमाएका तथा बेपत्ता भएका सशस्त्र प्रहरी कर्मचारीका परिवारजनसँग भेट गरेका छन्।
महानिरीक्षक पौडेलले बाढीमा परी ज्यान गुमाएका सशस्त्र प्रहरी जवान साजन कुँवरको नुवाकोटस्थित निवासमा पुगेर परिवारजनसँग भेट गर्दै समवेदना व्यक्त गरेका हुन्।
सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार पौडेलले नुवाकोटको लिखु गाउँपालिका–१ बरफेदीस्थित कुँवरको घर पुगेर दिवंगत जवानप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारलाई धैर्यधारण गर्न आग्रह गरेका थिए।
भोटेकोशी बाढीका बेला जिम्मेवारी निर्वाह गर्ने क्रममा कुँवरको ज्यान गएको थियो।
महानिरीक्षक पौडेलले बाढीपछि बेपत्ता रहेका सशस्त्र प्रहरी सहायक हवल्दार आशिष पौडेलका परिवारजनसँग समेत भेट गरेका छन्। परिवारसँगको भेटमा उनले बेपत्ता प्रहरी कर्मचारीको खोजीलाई सशस्त्र प्रहरी बलले निरन्तर प्राथमिकतामा राखेको बताएका छन्।
उनले आशिषसहित सम्पर्कविहीन रहेका सबै सशस्त्र प्रहरी कर्मचारीको खोज तथा उद्धारका लागि उपलब्ध स्रोत र जनशक्ति परिचालन भइरहेको जानकारी गराएका छन्।
रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीमा सशस्त्र प्रहरी बलका १३ जना कर्मचारी सम्पर्कविहीन भएका थिए।
विपत्तिमा नागरिकको खोज, उद्धार र सुरक्षाका लागि खटिएका सुरक्षाकर्मी स्वयं पनि बाढीको चपेटामा परेका थिए। सम्पर्कविहीन सशस्त्र प्रहरी कर्मचारीको अवस्था पत्ता लगाउन प्रभावित क्षेत्रमा खोजी कार्य जारी रहेको जनाइएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।