काठमाण्डौ । विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नेपाली नागरिकको राहत, पुनःस्थापना र मानवीय सहयोगका लागि बंगलादेश सरकारले १० लाख अमेरिकी डलरबराबरको आर्थिक सहायता उपलब्ध गराएको छ।
उक्त रकम करिब १५ करोड २० लाख नेपाली रुपैयाँ बराबर रहेको जनाइएको छ। बंगलादेश सरकारले सो सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गरेको हो।
बंगलादेशका प्रधानमन्त्री तारिक रहमान नेतृत्वको सरकारले नेपालमा पछिल्लो विपद्बाट भएको ठूलो जनधनको क्षतिप्रति ऐक्यबद्धता जनाउँदै आर्थिक सहयोग उपलब्ध गराएको बताइएको छ।
बंगलादेशका विदेश राज्यमन्त्री हुमायुन कबिरले बिहीबार नेपालका लागि नेपाली राजदूत घनश्याम भण्डारीलाई प्रधानमन्त्री तारिक रहमानले प्रधानमन्त्री बालेन्द्र शाहलाई पठाएको पत्र हस्तान्तरण गर्दै सहायता सम्बन्धी औपचारिक जानकारी गराएका हुन्।
नेपालमा आएको विपद्पछि बंगलादेशले सरकारी तथा कूटनीतिक तहबाट लगातार सहानुभूति र समर्थन जनाउँदै आएको छ।
सेप्टेम्बर १ मा विदेश राज्यमन्त्री कबिरले ढाकास्थित नेपाली दूतावासमा राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्दै बाढी तथा पहिरोमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए।
त्यसअघि अगस्ट २७ मा बंगलादेशको राष्ट्रिय संसद्ले नेपालमा भएको विनाशकारी विपद्प्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको थियो। संसद् बैठकमा मृतकको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो भने बेपत्ता र प्रभावित परिवारप्रति सहानुभूति प्रकट गरिएको थियो।
बंगलादेशी संसद्ले नेपाललाई आवश्यक मानवीय सहायता उपलब्ध गराउन सरकारलाई तत्काल पहल गर्नसमेत आग्रह गरेको थियो।
विपद्पछि प्रधानमन्त्री तारिक रहमानले प्रधानमन्त्री बालेन्द्र शाहलाई सन्देश पठाउँदै नेपाल सरकार तथा नेपाली जनताप्रति बंगलादेशको ऐक्यबद्धता व्यक्त गरेका थिए। उनले मृतकका परिवारप्रति समवेदना तथा प्रभावितको शीघ्र पुनःस्थापनाको कामना गरेका थिए।
बंगलादेशका राष्ट्रपति मिर्जा फखरुल इस्लाम आलमगीरले पनि नेपालको विपद्बाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाली समकक्षीलाई समवेदना सन्देश पठाएका थिए।
त्यस्तै, बंगलादेशका विदेशमन्त्री डा. खलिलुर रहमान र नेपालका परराष्ट्रमन्त्री शिशिर खनालबीच अगस्ट २७ मा टेलिफोन वार्ता भएको थियो। सो वार्तामा नेपाललाई आवश्यकताअनुसार थप मानवीय सहयोग उपलब्ध गराउने विषयमा छलफल भएको बताइएको छ।
बंगलादेशबाट प्राप्त पछिल्लो आर्थिक सहयोगले राहत, उद्धार तथा पुनःस्थापनाका काममा थप स्रोत उपलब्ध गराउने अपेक्षा गरिएको छ। यसलाई नेपाल–बंगलादेशबीचको परम्परागत मैत्री सम्बन्ध र विपद्का बेला देखिएको क्षेत्रीय सहकार्यको अर्को उदाहरणका रूपमा हेरिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।