काठमाण्डौ । नेपाली युवा बक्सर अविरल घिमिरेले ‘हिट किक बक्सिङ–५९’को विश्व च्याम्पियनसिप उपाधि जितेका छन्। ‘हिमालयन चितुवा’को उपनामले परिचित घिमिरेले जापानको नागोया सहरस्थित करिया हलमा भएको मुख्य प्रतिस्पर्धामा साविक विजेता फ्रेन्च बक्सर माथन चोइनार्डलाई पराजित गर्दै उपाधि आफ्नो नाममा गरेका हुन्।
अन्तर्राष्ट्रिय खेलकुद किक बक्सिङ महासंघको आयोजनामा भएको प्रतियोगितामा घिमिरेले प्रभावशाली प्रदर्शन गरेका थिए। प्रतिस्पर्धाको दोस्रो राउन्डको दोस्रो मिनेटमा घिमिरेले प्रहार गरेको शक्तिशाली मुक्का सहन नसकेपछि चोइनार्ड रिङमै ढलेका थिए।
चोइनार्ड ढलेपछि रेफ्रीले नकआउटका आधारमा घिमिरेलाई विजेता घोषणा गरेका थिए। जितसँगै घिमिरेले ‘हिट किक बक्सिङ–५९’को विश्व च्याम्पियनसिप उपाधि जित्ने पहिलो नेपाली बक्सरको कीर्तिमानसमेत बनाएका छन्।
घिमिरेले हालसम्म २९ वटा अन्तर्राष्ट्रिय खेल खेलेका छन्। उनले तीमध्ये २१ खेलमा जित हासिल गरेका छन् भने उनका २० जित नकआउटमार्फत आएका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।