Bizshala
  • बुधबार, भाद्र २४,२०८३ 01:42:53
Bizshala
Global IME Bank Limited

उखु बेचेर पनि किसानको हात खाली, अन्नपूर्ण चिनी उद्योगसँग अझै २२ करोड बक्यौता

उखु बेचेर पनि किसानको हात खाली, अन्नपूर्ण चिनी उद्योगसँग अझै २२ करोड बक्यौता
New Office

 

काठमाण्डौ । नगदे बाली भनिने उखु सर्लाहीका किसानका लागि फेरि ‘उधारो बाली’ बनेको छ। गत सिजनमा उद्योगलाई उखु बेचेका हजारौँ किसानले छ महिना बितिसक्दा पनि पूर्ण भुक्तानी पाउन सकेका छैनन्।

धन्कौल गाउँपालिका–२ मा रहेको अन्नपूर्ण चिनी उद्योगले सिजन २०८२/८३ मा किसानबाट खरिद गरेको उखुको करिब २२ करोड रुपैयाँ अझै भुक्तानी गर्न बाँकी रहेको देखिएको छ।

उद्योगले गत सिजन ३ हजार १८६ किसानबाट ९ लाख ९३ हजार ७५२.६७ क्विन्टल उखु खरिद गरी क्रसिङ गरेको थियो। सो उखुबापत किसानलाई कुल ६१ करोड ६१ लाख २७ हजार ६५५ रुपैयाँ भुक्तानी गर्नुपर्नेमा ठूलो रकम अझै बक्यौता रहेको छ।

किसानको उजुरीपछि सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेको अध्यक्षतामा गठित छानबिन समितिले समेत उद्योगबाट किसानले करिब २२ करोड रुपैयाँ पाउन बाँकी रहेको निष्कर्ष निकालेको थियो।

३०० क्विन्टल उखु बेच्दा पनि पूरा पैसा आएन

धन्कौल गाउँपालिका–३ का किसान कैलाश पासवानले अन्नपूर्ण चिनी उद्योगलाई ३०० क्विन्टल उखु बिक्री गरेका थिए। तर उनले अझै पूर्ण भुक्तानी पाएका छैनन्।

पासवानले ५० कट्ठा खेतमा उखु खेती गरेका छन्। त्यसमध्ये २० कट्ठा आफ्नै हो भने बाँकी खेत ठेक्कामा लिएर खेती गर्दै आएका छन्।

उखु बेचेको पैसा समयमै नआउँदा खेतको ठेक्का बुझाउन, घरखर्च चलाउन र परिवारका दैनिक आवश्यकता पूरा गर्न समस्या भएको उनले बताए।

‘घरको सबै खर्च खेतीबाट आएको पैसाले पुर्‍याउनुपर्छ,’ उनले भने, ‘बालबच्चाको लालनपालन, शिक्षादिक्षा, चाडपर्व सबै यही उखुको पैसाले चलाउनु छ। तर उद्योगले हरेक वर्ष आशा मात्रै देखाएर दुःख दिन्छ।’

पासवानले केही समयअघि छोरीको विवाहसमेत गरेका थिए। उद्योगले पैसा नदिँदा गर्जो टार्न साहुमहाजनबाट सयकडा ३ रुपैयाँ ब्याजमा ऋण लिनुपरेको उनले बताए।

उद्योगबाट उनले अझै ५६ हजार रुपैयाँभन्दा बढी पाउन बाँकी छ।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

नगद चाहियो भने बिचौलियालाई सस्तोमा बेच्नुपर्ने बाध्यता

भुक्तानीको अनिश्चितताका कारण कतिपय किसान उद्योगलाई सीधै उखु दिनुभन्दा बिचौलियालाई नगदमा बेच्न बाध्य भएका छन्।

पासवानका अनुसार उनले करिब ४०० क्विन्टल उखु नगदमा बिचौलियालाई बेचेका थिए।

तर त्यसरी बेच्दा किसानले प्रति क्विन्टल ३५ देखि ४० रुपैयाँसम्म कम मूल्य पाउने गरेका छन्।

बिचौलियाले किसानबाट कम मूल्यमा उखु किनेर आफ्नै नाममा उद्योगलाई बिक्री गर्ने र यसबाट किसानले पाउनुपर्ने अनुदानसमेत दुरुपयोग हुने गरेको किसानहरूको गुनासो छ।

२०७४ सालकै भुक्तानीसमेत बाँकी

धन्कौल–२ का पाँचु सहनीको अवस्था अझ गम्भीर छ।

खेतीपातीमै निर्भर सहनीले अन्नपूर्ण चिनी उद्योगलाई २०७४ सालमा बिक्री गरेको उखुको केही रकमसमेत अझै नपाएको बताएका छन्।

उद्योगको स्वामित्व परिवर्तन भएपछि पुरानो बक्यौता कसले तिर्ने भन्ने अन्योलमा किसान वर्षौँदेखि अल्झिएको उनको गुनासो छ।

‘माग्न जाँदा २०७४ सालसम्मको भुक्तानी पुरानो मालिकले गर्ने हो भने,’ सहनीले भने, ‘पछि विवरण भेटिएन भनेर पैसा नै दिएनन्।’

त्यसपछि उनले रौतहट र सर्लाहीको हरिवनस्थित इन्दुशङ्कर चिनी उद्योगलाई उखु बेच्दै आएका थिए।

तर यस वर्ष मिलगेट क्षेत्र निर्धारण गरी अन्य उद्योगलाई काँटा राख्न नदिने सहमति भएपछि आफूहरू बाध्य भएर फेरि अन्नपूर्णलाई उखु दिनुपरेको सहनी बताउँछन्।

उनले यसपटक बिक्री गरेको करिब ५०० क्विन्टल उखुको भुक्तानी अझै पाउन बाँकी छ।

उनको गुनासो छ— नजिकैको हरिवनस्थित उद्योगले उखु बिक्री गरेको १५ दिनभित्र किसानलाई पैसा दिन्छ, तर अन्नपूर्णले महिनौँसम्म भुक्तानी रोक्छ।

उद्योग भन्छ– दसैँअघि भुक्तानी सक्ने प्रयास छ

अन्नपूर्ण चिनी उद्योग प्रशासनले किसानको भुक्तानी बाँकी रहेको स्वीकार गरेको छ।

उद्योगका प्रशासकीय प्रमुख रमेश श्रीवास्तवले किसानलाई दैनिक रूपमा रकम भुक्तानी भइरहेको दाबी गरेका छन्।

उनका अनुसार उद्योगले कात्तिक मसान्तसम्म सम्पूर्ण बाँकी रकम भुक्तानी गर्ने योजना बनाएको छ। सकेसम्म दसैँअगाडि नै किसानको अधिकांश भुक्तानी सक्ने गरी काम भइरहेको उनको भनाइ छ।

तर बाँकी रकममध्ये हालसम्म कति किसानको खातामा कति रकम पठाइसकिएको छ भन्ने अद्यावधिक तथ्यांक भने उद्योग प्रशासनसँग उपलब्ध छैन।

नगदे बाली, तर किसानलाई ऋणकै भर

उखु किसानको मुख्य समस्या केवल मूल्यको होइन, समयमै भुक्तानी नपाउनु पनि हो।

उद्योगले महिनौँसम्म भुक्तानी रोक्दा किसानले खेतीको लागत, जग्गाको ठेक्का, घरखर्च, शिक्षा, विवाह र चाडपर्वसम्म चलाउन महँगो ब्याजमा ऋण लिनुपर्ने अवस्था सिर्जना भएको छ।

एकातिर किसानको उत्पादन उद्योगले प्रयोग गरिसकेको हुन्छ, अर्कोतिर त्यसको मूल्य किसानकै हातमा आउन महिनौँ लाग्छ।

यसले ‘नगदे बाली’ उखुलाई किसानका लागि उल्टै ऋण र अनिश्चितताको बाली बनाइरहेको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.