काठमाण्डौ । प्रधानमन्त्री बालेन शाहले सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद दीपककुमार साहलाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन्।
उद्योगमन्त्री गौरीकुमारी यादवले बिहीबार पदबाट राजीनामा दिएलगत्तै रिक्त पदमा साहलाई नियुक्त गर्न प्रधानमन्त्री शाहले सिफारिस गरेका हुन्। उनको नियुक्तिसम्बन्धी सिफारिसपत्र राष्ट्रपति कार्यालय शीतल निवास पुगिसकेको बताइएको छ।
राष्ट्रपति कार्यालयका अनुसार नवनियुक्त मन्त्री साहको पद तथा गोपनीयताको शपथ आजै साँझ साढे ५ बजे हुने तयारी छ। संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले मन्त्री नियुक्त गर्ने प्रावधान छ।
मन्त्रिपरिषद्को बैठक जारी रहेकै बेला साह प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका थिए। मन्त्रीमा नियुक्तिको औपचारिक प्रक्रिया चलिरहँदा उनी प्रधानमन्त्री कार्यालयकै एक कक्षमा बसेका थिए।
साह प्रतिनिधिसभा निर्वाचनअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका थिए। त्यसअघि उनी सीके राउत नेतृत्वको जनमत पार्टीमा आबद्ध थिए। जनमत पार्टीबाट निष्कासित भएपछि उनले आफ्नै राजनीतिक दलसमेत गठन गरेका थिए।
गौरीकुमारी यादवको अप्रत्याशित राजीनामापछि खाली भएको महत्त्वपूर्ण मन्त्रालयमा प्रधानमन्त्री शाहले तत्कालै नयाँ मन्त्री सिफारिस गरेका हुन्। उद्योग, व्यापार तथा आपूर्ति व्यवस्थापनसँग सम्बन्धित चुनौती बढिरहेका बेला साहले मन्त्रालयको नेतृत्व सम्हाल्न लागेका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।