काठमाण्डौ। रसुवाको भोटेकोशीमा आएको बाढीका कारण रसुवागढी–केरुङ नाका पूर्ण रूपमा बन्द भएपछि नेपाल–चीन उत्तरी कोरलानाकाबाट चिनियाँ मालवस्तुको आयात बढेको छ। आयात बढेसँगै मुस्ताङको लोमान्थाङ–४, न्हेचुङस्थित मुस्ताङ भन्सार कार्यालयले पछिल्लो १५ दिनमै १ अर्ब ७८ करोड ४४ लाख रुपैयाँ राजस्व संकलन गरेको छ।
रसुवागढी–केरुङ र तातोपानी नाका बन्द भएपछि चीनबाट नेपाल भित्रिने मालवस्तुको ठूलो हिस्सा कोरलानाकातर्फ आएको हो। त्यसका कारण पछिल्लो समय कोरलानाकाबाट हुने आयात उल्लेख्य रूपमा बढेको हो ।
शुक्रबार मात्रै मुस्ताङ भन्सार कार्यालयले २७ करोड ११ लाख रुपैयाँ राजस्व संकलन गरेको छ। भदौ २२ गतेपछि कोरलानाकाबाट दैनिक औसतमा करिब ३० करोड रुपैयाँ राजस्व संकलन भइरहेको जनाइएको छ ।
भन्सार कार्यालयका अनुसार शुक्रबार मात्रै ७१ वटा कन्टेनर र १०६ वटा विद्युतीय सवारीसाधन (ईभी) को भन्सार जाँचपास भएको छ।
रसुवागढी नाका बन्द भएको भदौ १० गतेदेखि भदौ २५ गतेसम्म कोरलानाका हुँदै नेपाल भित्रिएका ४३४ वटा कन्टेनर र ६४१ वटा विद्युतीय सवारीसाधनको भन्सार जाँचपास गरिएको छ।
चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि भदौ २५ गतेसम्म कोरलानाका हुँदै नेपाल भित्रिएका कन्टेनर तथा विद्युतीय सवारीसाधनको भन्सार जाँचपासबाट २ अर्ब ३१ करोड ४४ लाख रुपैयाँ राजस्व संकलन भएको चुडालले बताए।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।