काठमाण्डौ । रसुवास्थित १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजनामा भोटेकोशी नदीमा आएको प्रलयकारी बाढीका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। बाढीपछि आयोजनाका सञ्चालकसहित ९२ जना कर्मचारी तथा कामदारको अवस्था अझै अज्ञात रहेको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार भदौ १० गते बुधबार भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण सञ्चालक सुनौं औदी तामाङसहित नियमित करार सेवामा कार्यरत ५० जना, दैनिक ज्यालादारीमा कार्यरत २ जना तथा विभिन्न ठेकेदार कम्पनीमार्फत आयोजनामा कार्यरत ३९ जना गरी कुल ९२ जना सम्पर्कविहीन भएका छन्।
बाढीमा कम्पनीका एक कर्मचारीको शव भने पहिचान भइसकेको छ। सम्पर्कविहीन सञ्चालक तथा कर्मचारीहरूको खोजी तथा उद्धार कार्य नेपाली सेनामार्फत अझै जारी रहेको कम्पनीले जनाएको छ।
प्रलयकारी बाढीले आयोजनाका महत्वपूर्ण भौतिक संरचनामा समेत व्यापक क्षति पुर्याएको छ। प्रारम्भिक विवरणअनुसार आयोजनाको बाँधस्थल, साइट कार्यालय, कर्मचारी आवास भवन, पक्की पुल तथा सम्पूर्ण पहुँचमार्गमा ठूलो क्षति पुगेको छ।
त्यस्तै, आयोजनामा प्रयोग भइरहेका विभिन्न प्रकारका सवारीसाधन तथा हेभी इक्विपमेन्टमा समेत पूर्ण क्षति पुगेको कम्पनीले जनाएको छ।
आयोजनाको भूमिगत विद्युतगृहमा बाढीले ल्याएको ठूलो परिमाणको डेब्रिज भरिएको छ। यसैगरी प्रसारण लाइनअन्तर्गतका तीनवटा टावरमा पूर्ण क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ।
कम्पनीले बाढीबाट भएको क्षतिको विस्तृत विवरण संकलन गर्ने कार्य जारी रहेको जनाएको छ। क्षति भएका भौतिक संरचना, मेसिनरी, उपकरण तथा सवारीसाधनको बाढी आउँदाका बखत बीमा चालु अवस्थामा रहेको समेत कम्पनीले स्पष्ट पारेको छ।
मानवीय क्षतिको खोजी तथा उद्धारसँगै आयोजनाको भौतिक क्षतिको विस्तृत मूल्यांकन र पुनर्स्थापनाका लागि आवश्यक प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।