काठमाण्डौ । नजिकिँदै गरेको बडादशैँ तथा अन्य चाडपर्वलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले एटिएमबाटै १०० रुपैयाँ दरका नोट निकाल्न मिल्ने व्यवस्था गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ।
चाडपर्वका बेला साना दरका नोट सटही गर्न बैंक तथा वित्तीय संस्थाका शाखा र काउन्टरमा अत्यधिक भीड लाग्ने समस्यालाई कम गर्न राष्ट्र बैंकले यस्तो व्यवस्था अघि सारेको हो।
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन र नेपाल वित्त कम्पनी संघलाई पत्राचार गर्दै मातहतका बैंक तथा वित्तीय संस्थाका एटिएम मेसिनबाट १०० रुपैयाँ दरका नोटसमेत वितरण हुने व्यवस्था मिलाउन भनेको छ।
राष्ट्र बैंककी सहायक प्रवक्ता सुधा शाहका अनुसार सम्बन्धित संस्थाहरूलाई एटिएममार्फत सय रुपैयाँका नोट उपलब्ध गराउने आवश्यक व्यवस्था गर्न निर्देशन दिइएको हो।
अहिलेसम्म अधिकांश बैंक तथा वित्तीय संस्थाका एटिएमबाट सामान्यतः ५०० र १ हजार रुपैयाँ दरका नोट मात्रै निस्कने गरेका छन्। यसका कारण खुद्रा कारोबार वा चाडपर्वका बेला साना दरका नोट आवश्यक पर्ने ग्राहक बैंकको काउन्टरमै पुग्नुपर्ने बाध्यता थियो।
विशेषगरी दशैँको समयमा दक्षिणा तथा दैनिक कारोबारका लागि १०० रुपैयाँसहित साना दरका नोटको माग बढ्ने गर्छ। यही समयमा नोट सटहीका लागि बैंकहरूमा लामो लाइन लाग्ने गरेको छ।
नयाँ व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन भएमा भने ग्राहकले एटिएमबाटै १०० रुपैयाँ दरका नोट निकाल्न सक्नेछन्। यसले बैंक तथा वित्तीय संस्थाका काउन्टरमा हुने भीड कम गर्नुका साथै सर्वसाधारणलाई साना दरका नोट प्राप्त गर्न थप सहज बनाउने अपेक्षा गरिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।