मंगलवार, भाद्र ३०,२०८३ 02:14:49
Bizshala
  • मंगलवार, भाद्र ३०,२०८३ 02:14:49
Bizshala
Global IME Bank Limited

च्याउबाट ओएन बायोटेकको छलाङः ५ करोडको कारोबार तीन वर्षमै साढे २१ करोड

च्याउबाट ओएन बायोटेकको छलाङः ५ करोडको कारोबार तीन वर्षमै साढे २१ करोड
New Office

काठमाडौं। नेपालमा च्याउ खेती अझै धेरै हदसम्म साना किसान र परम्परागत उत्पादन प्रणालीमा सीमित छ। तर रुपन्देहीको एउटा कम्पनीले यही व्यवसायलाई औद्योगिक आकार दिँदै छोटो अवधिमै आफ्नो कारोबार चार गुणाभन्दा बढीले बढाएको छ।

रुपन्देहीको तिलोत्तमा–१६ मा सञ्चालित ओएन बायोटेक एग्रो इन्डस्ट्रिज पब्लिक लिमिटेडले आर्थिक वर्ष २०७९/८० मा करिब ५ करोड रुपैयाँको कारोबार गरेको थियो। तीन वर्षपछि आर्थिक वर्ष २०८२/८३ मा कम्पनीको कारोबार बढेर २१ करोड ५० लाख रुपैयाँ पुगेको छ। यो अवधिमा कम्पनीको व्यवसाय करिब साढे चार गुणाले विस्तार भएको देखिन्छ।

लगानी विस्तार, उत्पादन क्षमता वृद्धि र च्याउसँगै त्यसका लागि आवश्यक बीउको व्यावसायिक उत्पादनले कम्पनीको आम्दानीमा उल्लेख्य वृद्धि भएको हो। कम्पनीले आगामी आर्थिक वर्षमा कारोबार झन्डै दोब्बर बनाउँदै ४० करोड रुपैयाँ पुर्‍याउने लक्ष्य राखेको छ।

Shivam Cement
Bizshala
CG Motors

ओएन बायोटेकले च्याउको बीउ उत्पादन, व्यावसायिक च्याउ खेती तथा उत्पादित वस्तुको वितरणलाई मुख्य व्यवसाय बनाएको छ। खाद्य तथा औषधीय प्रयोजनमा प्रयोग हुने विभिन्न प्रजातिका च्याउका बीउसमेत कम्पनीले उत्पादन गर्दै आएको छ।

विशेषगरी बटन मसरुम अर्थात् डल्ले च्याउको उत्पादनलाई कम्पनी र यसका भगिनी संस्थाले आधुनिक कृषि प्रविधि तथा वातावरण नियन्त्रित उत्पादन गृहसँग जोडेका छन्। तापक्रम, आर्द्रता र उत्पादन वातावरण नियन्त्रण गर्ने प्रविधिको प्रयोगबाट च्याउ उत्पादनलाई वर्षभरि व्यवस्थित र व्यावसायिक बनाइएको कम्पनीले जनाएको छ।

कम्पनीले आफ्नै स्वामित्वमा रहेको करिब १० बिघा जग्गामा उत्पादन संरचना विस्तार गरेको छ। हाल दैनिक करिब २ टन बीउ उत्पादन भइरहेको कम्पनीसँग यसको क्षमता दैनिक ४ टनसम्म पुर्‍याउन सक्ने पूर्वाधार छ। त्यसैगरी च्याउ उत्पादनतर्फ पनि दैनिक करिब ४ टन क्षमता रहेको जनाइएको छ।

कम्पनीले उत्पादन गरेको बीउ प्रयोग गरेर स्थानीय तहका धेरै किसान च्याउ खेतीमा जोडिएका छन्। च्याउ उत्पादन विस्तारसँगै आवश्यक कम्पोस्ट मल ठूलो परिमाणमा उत्पादन गर्ने रणनीतिसमेत कम्पनीले अघि सारेको छ।

९० प्रतिशतसम्म स्वदेशी कच्चा पदार्थ

ओएन बायोटेकको उत्पादन प्रणालीको महत्त्वपूर्ण पक्ष स्वदेशी कच्चा पदार्थको प्रयोग हो। च्याउको बीउ तथा च्याउ उत्पादनमा आवश्यक सामग्रीमध्ये करिब ९० प्रतिशत नेपालमै उपलब्ध कच्चा पदार्थ प्रयोग हुने गरेको कम्पनीको दाबी छ।

कुखुराको मल, घाँस र गहुँको पराललगायत स्थानीय कृषिजन्य अवशेषलाई उत्पादन प्रक्रियामा उपयोग गरिँदै आएको छ। यसबाट एकातिर आयातित कच्चा पदार्थमाथिको निर्भरता घटेको छ भने अर्कोतर्फ स्थानीय किसानले आफ्ना कृषिजन्य उपउत्पादनबाट समेत आम्दानी गर्ने अवसर पाएका छन्।

कृषिजन्य अवशेषलाई व्यावसायिक उत्पादनको कच्चा पदार्थका रूपमा प्रयोग गर्ने यो अभ्यासले च्याउ व्यवसायलाई चक्रीय अर्थतन्त्रसँग समेत जोडेको छ।

Muktinath Bikas Bank Limited

बटन च्याउ बजारमा करिब आधा हिस्सा

कम्पनीका अनुसार नेपालमा उत्पादन हुने बटन मसरुम अर्थात् डल्ले च्याउको करिब ५० प्रतिशत हिस्सा ओएन बायोटेकले ओगटेको छ। यो तथ्यांकले कम्पनीको बजार उपस्थिति मात्रै होइन, नेपालमा च्याउ व्यवसाय परम्परागत खेतीबाट औद्योगिक उत्पादनतर्फ अघि बढिरहेको संकेतसमेत गर्छ।

रुपन्देहीबाट सुरु भएको कम्पनीको उत्पादन तथा वितरण सञ्जाल पछिल्लो समय देशका विभिन्न क्षेत्रमा विस्तार भएको छ। यहाँ उत्पादित च्याउको बीउ तथा तयारी च्याउ काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, इटहरी, दाङ, नवलपरासी र पाल्पालगायत जिल्लामा पुग्ने गरेको छ।

नेपालमा च्याउ उत्पादनको तुलनामा बजार माग अझै उच्च रहेको कम्पनीको आकलन छ। बढ्दो सहरी उपभोग, होटल तथा रेस्टुराँको माग र च्याउप्रति उपभोक्ताको बढ्दो आकर्षणले यस क्षेत्रमा थप ठूलो व्यावसायिक सम्भावना देखाएको छ।

ओएन बायोटेकमा हाल २०० भन्दा बढी व्यक्तिले प्रत्यक्ष रोजगारी पाएका छन् भने कम्पनीको उत्पादन, आपूर्ति, ढुवानी, वितरण तथा किसान सञ्जालमार्फत करिब २ हजार व्यक्ति अप्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।

उत्पादन क्षमता, किसान सञ्जाल र बजार पहुँचलाई एकसाथ विस्तार गरिरहेको ओएन बायोटेकको वृद्धिले नेपालमा च्याउ खेती केवल सहायक कृषि व्यवसाय नभई ठूलो लगानी, रोजगारी र औद्योगिक उत्पादनको सम्भावना बोकेको क्षेत्रका रूपमा उदाइरहेको देखाएको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.