काठमाण्डौ । प्रभु बैंक लिमिटेडले प्राकृतिक प्रकोप तथा बाढीका कारण घाइते भएकालाई रगतको अभाव हुन नदिन देशव्यापी रक्तदान कार्यक्रम आयोजना गरेको छ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा मंगलबार सातै प्रदेशमा एकैसाथ रक्तदान कार्यक्रम सञ्चालन गरेको हो।
कार्यक्रमअन्तर्गत बागमती प्रदेशमा बैंकको केन्द्रीय कार्यालय बबरमहल र नारायणगढ शाखा चितवन, कोशी प्रदेशमा विराटनगर शाखा, मधेश प्रदेशमा सिमरा शाखा, गण्डकी प्रदेशमा अमरसिंहचोक शाखा पोखरा, लुम्बिनी प्रदेशमा बुटवल शाखा, कर्णाली प्रदेशमा सुर्खेत शाखा तथा सुदूरपश्चिम प्रदेशमा धनगढी शाखामा रक्तदान कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ।
केन्द्रीय कार्यालयसहित बैंकका ८ स्थानमा एकै समयमा सञ्चालन गरिएको रक्तदान कार्यक्रममा सहभागीहरूबाट कुल ३२१ पिन्ट रगत संकलन भएको छ।
बैंकले पछिल्लो समय आएको विनाशकारी बाढीबाट प्रभावित तथा घरबारविहीन परिवारलाई राहत पुर्याउन यसअघि पनि आर्थिक तथा सामग्री सहयोग गरेको जनाएको छ।
बैंकका अनुसार संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २ करोड ११ लाख ११ हजार १११ रुपैयाँ तथा बैंकका सञ्चालक र कर्मचारीबाट स्वेच्छिक रूपमा संकलित ४० लाख ८० हजार ५० रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराइएको थियो।
यसैगरी बाढी प्रभावित परिवारलाई राहत उपलब्ध गराउने उद्देश्यले बैंकले थप सहयोगस्वरूप १०० थान टेन्ट र १०० थान स्लिपिङ ब्याग जिल्ला प्रशासन कार्यालय नुवाकोटलाई हस्तान्तरण गरेको जनाएको छ।
प्रभु बैंकले प्राकृतिक विपद्का कारण ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बेपत्ता नागरिकको शीघ्र उद्धार तथा घाइतेको स्वास्थ्यलाभको कामना गरेको छ।
बैंकले विपद्को कठिन समयमा प्रभावित नागरिक तथा समुदायको राहत, उद्धार र पुनर्स्थापनामा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिने प्रतिबद्धतासमेत जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।