काठमाण्डौ । सरकारले साउन १ गतेदेखि कार्यान्वयनमा ल्याएको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र छपाइ सुरु भएको छ।
यातायात व्यवस्था विभागले लामो समयदेखि देखिँदै आएको लाइसेन्स छपाइको ढिलाइ र सेवाग्राहीको चाप कम गर्ने उद्देश्यसहित नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु गरेको हो।
ईडीएलभीआरएसमा सेवाग्राहीको विवरण अपलोड भएपछि उक्त विवरण सिधै सुरक्षण मुद्रण केन्द्रमा पुग्ने व्यवस्था गरिएको छ। सुरक्षण मुद्रणबाट लाइसेन्स छपाइ भएपछि हुलाकमार्फत सम्बन्धित यातायात व्यवस्था सेवा कार्यालयमा पठाइनेछ।
नयाँ व्यवस्थाले नयाँ लाइसेन्स लिने तथा पुरानो लाइसेन्स नवीकरण गर्ने सेवाग्राहीले लामो समयसम्म कार्ड कुर्नुपर्ने समस्या क्रमशः समाधान हुने सरकारको अपेक्षा छ।
पहिलो चरणमा मधेश प्रदेशका ३ हजार ८१ वटा सवारी चालक अनुमतिपत्र छपाइ गरी वितरणका लागि हुलाकमार्फत सम्बन्धित यातायात कार्यालयमा पठाइएको छ।
सरकारले प्रदेशलाई समेत सुरक्षण मुद्रण केन्द्रसँग सम्झौता गरी आफ्नै व्यवस्थापनमा लाइसेन्स छपाइ गर्न सक्ने व्यवस्था गरेको छ। सोहीअनुसार मधेश प्रदेशले सुरक्षण मुद्रणसँग सम्झौता गरी लाइसेन्स छपाइ गरिरहेको छ।
लुम्बिनी प्रदेशले पनि शुक्रबार सुरक्षण मुद्रणसँग सम्झौता गरी लाइसेन्स छपाइ प्रक्रिया सुरु गरेको छ।
प्रदेश सरकारले सुरक्षण मुद्रणसँग सम्झौता नगरेको अवस्थामा भने सेवाग्राहीको चाप र आवश्यकतालाई ध्यानमा राखेर यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्रको समन्वयमा लाइसेन्स छपाइ गरिनेछ।
नयाँ प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा आएपछि प्रदेशअनुसार लाइसेन्स छपाइको जिम्मेवारी विकेन्द्रित हुने र सेवाग्राहीले तुलनात्मक रूपमा छिटो लाइसेन्स प्राप्त गर्न सक्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।