काठमाण्डौ । विपद्का कारण परिवारबाट छुट्टिएका, अभिभावक वा संरक्षकविहीन बनेका तथा विशेष संरक्षण आवश्यक भएका बालबालिकाको सुरक्षा र संरक्षणका लागि सरकारले ‘स्याहार योजना’ कार्यान्वयनमा ल्याएको छ।
योजनाअन्तर्गत ललितपुरको गोदावरी नगरपालिका–१२, ठेचोमा बालबालिकाका लागि अस्थायी संरक्षण सेवा केन्द्र सञ्चालनमा ल्याइएको छ।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयको पहलमा राष्ट्रिय बाल अधिकार परिषद्ले सञ्चालनमा ल्याएको उक्त केन्द्रले विपद् प्रभावित तथा तत्काल संरक्षण आवश्यक बालबालिकालाई सुरक्षित आश्रय र आवश्यक सेवा उपलब्ध गराउनेछ।
केन्द्रमा राखिएका बालबालिकालाई सुरक्षित आवास, खानपान, स्वास्थ्य उपचार, मनोसामाजिक परामर्श तथा सहयोग उपलब्ध गराइनेछ। त्यससँगै उनीहरूको पारिवारिक अवस्था पहिचान गर्ने, परिवार वा आफन्तको खोजी गर्ने तथा सुरक्षित पुनर्मिलन गराउने काम पनि केन्द्रमार्फत गरिनेछ।
बालबालिकाको सर्वोत्तम हित र सुरक्षालाई प्राथमिकतामा राख्दै सम्भव भएसम्म उनीहरूलाई आफ्नै परिवार वा उपयुक्त आफन्तसँग पुनर्मिलन गराउने सरकारको नीति छ।
तर परिवार वा आफन्तसँग सुरक्षित पुनर्मिलन सम्भव नभएको अवस्थामा मात्रै बालबालिकाको अवस्था, आवश्यकता र सुरक्षाको मूल्याङ्कन गरी प्रचलित कानुन तथा मापदण्डअनुसार दीर्घकालीन संरक्षणको व्यवस्था गरिनेछ।
सरकारले दीर्घकालीन संस्थागत संरक्षणलाई अन्तिम विकल्पका रूपमा मात्र प्रयोग गर्ने जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।