सोमबार, आश्विन ५,२०८३ 07:07:48
Bizshala
  • सोमबार, आश्विन ५,२०८३ 07:07:48
Bizshala
Global IME Bank Limited

बाढी प्रभावितको पुनःस्थापना भौतिक संरचनामा मात्र सीमित नहोस् : मन्त्री बादी

बाढी प्रभावितको पुनःस्थापना भौतिक संरचनामा मात्र सीमित नहोस् : मन्त्री बादी
New Office

 

काठमाण्डौ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले बाढी प्रभावितको पुनःस्थापनालाई केवल सुरक्षित आवास निर्माणमा सीमित नराखी महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अन्य विशेष संरक्षण आवश्यक भएका नागरिकको सुरक्षा, हेरचाह र सामाजिक संरक्षणलाई पनि केन्द्रमा राख्नुपर्ने बताएकी छन्।

सोमबार मन्त्रालयमा रसुवाको उत्तरगया गाउँपालिकाका अध्यक्ष माधवप्रसाद अर्यालसँग भएको भेटमा मन्त्री बादीले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको अवस्था, राहत तथा उद्धार, अस्थायी आवास, दीर्घकालीन पुनःस्थापना र सामाजिक संरक्षणका विषयमा छलफल गरेकी हुन्।

छलफलका क्रममा उनले विपद्बाट प्रभावित नागरिकको वास्तविक आवश्यकता पहिचान गरी तत्कालीन राहतसँगै दीर्घकालीन पुनःस्थापना र सामाजिक संरक्षणका कार्यक्रमलाई एकीकृत रूपमा अघि बढाउनुपर्नेमा जोड दिइन्।

उनले जोखिममा रहेका समूहको अवस्था र आवश्यकता फरक हुने भएकाले लक्षित कार्यक्रममार्फत संरक्षण र सेवा उपलब्ध गराउनुपर्ने बताइन्।

अभिभावक गुमाएका बालबालिकाका लागि ‘स्याहार योजना’

मन्त्री बादीले बाढी तथा अन्य विपद्का कारण अभिभावक गुमाएका तथा विशेष संरक्षण आवश्यक भएका बालबालिकाका लागि ‘स्याहार योजना’ अघि बढाइएको जानकारी दिइन्।

उक्त योजनामार्फत बालबालिकाको लालनपालन, स्वास्थ्य, शिक्षा, मनोसामाजिक सहयोग, पारिवारिक पुनर्मिलन तथा भविष्यको व्यवस्थापनमा राज्यको जिम्मेवारीलाई प्रभावकारी बनाउने उद्देश्य रहेको उनको भनाइ छ।

त्यस्तै, ‘विपद् प्रभावित बालबालिकाको अस्थायी संरक्षण सेवा केन्द्र सञ्चालन निर्देशिका, २०८३’ अनुसार आवश्यक स्थान पहिचान गरी अस्थायी संरक्षण सेवा केन्द्र सञ्चालनको तयारी भइरहेको उनले बताइन्।

यस्ता केन्द्रमार्फत विपद्बाट प्रभावित बालबालिकाको तत्काल सुरक्षा, स्वास्थ्य तथा मनोसामाजिक सहयोग, परिवार खोजतलास तथा पुनर्मिलन र आवश्यकताअनुसार वैकल्पिक हेरचाहको व्यवस्था गरिनेछ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

महिला, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिका लागि विशेष प्याकेज

मन्त्री बादीले बाढी प्रभावित महिला तथा किशोरी, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिका लागि विशेष संरक्षण तथा सामाजिक सुरक्षा प्याकेज ल्याउने तयारी भइरहेको पनि जानकारी दिइन्।

उनका अनुसार विपद्का समयमा बढी जोखिममा पर्न सक्ने समूहको अवस्था पहिचान गरी उनीहरूलाई लक्षित सेवा, सहयोग र संरक्षण उपलब्ध गराउने गरी कार्यक्रम तयार गरिनेछ।

‘विपद्को असर सबै नागरिकमा समान हुँदैन। महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिका आवश्यकता फरक हुन्छन्,’ उनले भनिन्, ‘त्यसैले राहतदेखि पुनःस्थापनासम्म उनीहरूको विशिष्ट आवश्यकतालाई केन्द्रमा राखेर राज्यको उपस्थिति सुनिश्चित गर्नुपर्छ।’

उनले अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त सेवा तथा आवास, ज्येष्ठ नागरिकका लागि सुरक्षित बसोबास र हेरचाह, महिला तथा किशोरीका लागि सुरक्षा तथा संरक्षण र बालबालिकाका लागि सुरक्षित वातावरण सुनिश्चित गर्न स्थानीय तहसँग समन्वय गरेर काम गरिने बताइन्।

सुरक्षित स्थानमा दीर्घकालीन पुनःस्थापनामा जोड

मन्त्री बादीले प्रभावित नागरिकलाई पुनः जोखिमयुक्त स्थानमै बसोबास गराउने अवस्था आउन नहुने उल्लेख गर्दै सुरक्षित स्थान पहिचान गरी व्यवस्थित र दीर्घकालीन पुनःस्थापनाको योजना बनाउनुपर्ने बताइन्।

संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय गर्दै स्थानीय आवश्यकता, जोखिम र उपलब्ध स्रोतसाधनका आधारमा पुनःस्थापनाको काम अघि बढाउनुपर्ने उनको भनाइ थियो।

उत्तरगया गाउँपालिका अध्यक्ष माधवप्रसाद अर्यालले बाढी प्रभावित क्षेत्रमा भइरहेको राहत तथा उद्धार, प्रभावित परिवारको अवस्था र पुनःस्थापनाका लागि स्थानीय तहबाट भइरहेको तयारीबारे मन्त्री बादीलाई जानकारी गराए।

उनले प्रभावितको तथ्याङ्क तथा विवरणमा एकरूपता कायम गर्नुपर्ने, अस्थायी आवास र दीर्घकालीन पुनःस्थापनालाई व्यवस्थित गर्नुपर्ने तथा गैरसरकारी र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाबाट प्राप्त सहयोगलाई प्रभावितको वास्तविक आवश्यकताका आधारमा परिचालन गर्नुपर्नेमा जोड दिए।

छलफलमा प्रभावितको वास्तविक आवश्यकता पहिचान, राहत तथा संरक्षण सेवाको पहुँच, अस्थायी आवास, दीर्घकालीन पुनःस्थापना तथा महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिका लागि लक्षित संरक्षण र सामाजिक सुरक्षाका विषयमा समेत छलफल भएको थियो।

मन्त्री बादीले बाढीपछिको पुनःस्थापनालाई घर तथा भौतिक संरचना निर्माणमा मात्र सीमित नगरी प्रभावित नागरिकको जीवन, सुरक्षा, सम्मान, हेरचाह, सामाजिक संरक्षण र भविष्य सुनिश्चित गर्ने समग्र अभियानका रूपमा अघि बढाइने बताइन्।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.