काठमाण्डौ । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले बगाएर ल्याएका विभिन्न ‘लकर’ तथा दराजका धनीको खोजी प्रहरीले सुरु गरेको छ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार जिल्लाका विभिन्न स्थानबाट हालसम्म दुई थान लकर र एक थान लकरसहितको दराज फेला परेको छ।
प्रहरीका अनुसार विदुर नगरपालिका–१ ढुङ्गेमा भदौ १९ गते, विदुर नगरपालिका–३ बुधसिंहघाटमा भदौ ३० गते र सोही वडाको छत्रेखोला दोभानमा भदौ ३१ गते ती सामग्री फेला परेका हुन्।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक विपिन रेग्मीका अनुसार फेला परेका लकरको आकार बैंक तथा वित्तीय संस्था वा ठूला व्यावसायिक प्रतिष्ठानमा प्रयोग हुने किसिमको देखिएको छ।
लकर तथा दराज कसको स्वामित्वमा रहेको हो भन्ने पहिचान हुन नसकेपछि प्रहरीले सम्बन्धित व्यक्ति वा संस्थालाई आवश्यक प्रमाणसहित प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ।
यस्तै, रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ स्याफ्रुबेँसीमा पनि मंगलबार एक थान लकर फेला परेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।
प्रहरी निरीक्षक डिल्लीराज सापकोटाका अनुसार उक्त लकर दाबी गर्न हालसम्म कोही पनि सम्पर्कमा आएका छैनन्।
बाढीका कारण नगद, कागजात, लकर, दराज वा अन्य सम्पत्ति हराएका व्यक्ति तथा संस्थालाई नजिकको प्रहरी कार्यालयमा निवेदन दिनसमेत प्रहरीले अनुरोध गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।