काठमाण्डौ । त्रिपुरेश्वरमा यात्रुवाहक बसका चालक अर्जुन दोङले आत्मदाह प्रयास गरी ज्यान गुमाएको घटनालाई लिएर यातायात व्यवसायी तथा मजदुर संघसंस्थाहरूले प्रहरीको भूमिकामाथि प्रश्न उठाएका छन्।
छ वटा यातायातसम्बद्ध महासंघ तथा संघले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै ट्राफिक प्रहरीको नियन्त्रणमा रहेका बेला चालकले आत्मदाह प्रयास गर्नु गम्भीर लापरबाही भएको ठहर गरेका छन्। उनीहरूले घटनाको निष्पक्ष छानबिन, मृतक परिवारलाई क्षतिपूर्ति र दोषीमाथि कारबाहीको मागसमेत गरेका छन्।
संघसंस्थाहरूका अनुसार असोज ५ गते मूलपानीबाट यात्रु लिएर थानकोट भञ्ज्याङतर्फ जाँदै गरेको बा ५ ख ४२७४ नम्बरको बस त्रिपुरेश्वरस्थित आँखा अस्पताल अगाडि पुगेको थियो।
विज्ञप्तिमा आफ्नै साइडमा रहेको मोटरसाइकलका कारण सडक अवरुद्ध भएपछि चालक दोङले हर्न बजाएको र त्यसै विषयमा ट्राफिक प्रहरीले बस रोकेर कागजात माग्दै कारबाही गर्न खोजेपछि विवाद सुरु भएको दाबी गरिएको छ।
यातायात संघसंस्थाहरूले यात्रुहरूलाई बसबाट ओरालेर करिब दुई घण्टासम्म बस नियन्त्रणमा राखिएको र चालकलाई हप्काइएको दाबी गरेका छन्।
त्यसपछि बसलाई बग्गीखानामा लैजान खोज्दा चालकले प्रतिवाद गरेको तथा ट्राफिक प्रहरीबाट भएको भनिएको मानसिक दबाब र हैरानी सहन नसकी उनले आफ्नो शरीरमा आगो लगाएको उनीहरूको जिकिर छ।
संघसंस्थाहरूले प्रहरीको नियन्त्रणमै रहेको अवस्थामा यस्तो घटना हुनु राज्य पक्षको गम्भीर लापरबाही भएको निष्कर्ष निकालेका छन्। यद्यपि घटनाका यी विवरणमाथि आधिकारिक छानबिनबाट अन्तिम निष्कर्ष आउन बाँकी छ।
नौबुँदे माग
घटनापछि यातायात व्यवसायी तथा मजदुर संघसंस्थाहरूले सरकारसमक्ष नौबुँदे माग अघि सारेका छन्।
उनीहरूले मृतक चालकको परिवारलाई तत्काल राहत, उचित क्षतिपूर्ति तथा पुनर्स्थापनाको व्यवस्था गर्न माग गरेका छन्। आगलागीबाट पूर्ण रूपमा क्षतिग्रस्त बसका धनीलाई समेत क्षतिपूर्ति दिन उनीहरूको माग छ।
सरोकारवाला पक्षसमेत सहभागी हुने गरी न्यायिक छानबिन समिति गठन गरेर घटनाको सत्यतथ्य सार्वजनिक गर्न र दोषी देखिएकालाई कारबाही गर्न पनि संघसंस्थाहरूले माग गरेका छन्।
यातायात श्रमिकलाई श्रम ऐनको दायरामा ल्याउन, रोजगार सम्झौता गरेर मात्र काममा लगाउन तथा सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गराउनुपर्ने मागसमेत अघि सारिएको छ।
ट्राफिक प्रहरीबाट हुने दुर्व्यवहार, हैरानी वा झमेलाबारे उजुरी गर्न २४ घण्टे हेल्पलाइन र द्रुत सुनुवाइ संयन्त्र स्थापना गर्नुपर्ने उनीहरूको माग छ।
साथै सडकमा ट्राफिक प्रहरीको व्यवहार र कार्यशैलीमाथि छानबिन गर्न, ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री र जनमुखी बनाउन तथा सरोकारवालासहितको अनुगमन संयन्त्र गठन गर्नुपर्ने उनीहरूले बताएका छन्।
ट्राफिक प्रहरीलाई दिइएको तजबिजी अधिकारको दुरुपयोग रोक्न अधिकार प्रत्यायोजनको व्यवस्थासमेत पुनरावलोकन गर्न माग गरिएको छ।
संयुक्त संघर्ष समिति गठन
माग पूरा नभएसम्म दबाबमूलक कार्यक्रम जारी राख्न छ वटा महासंघ तथा संघका अध्यक्ष सम्मिलित संयुक्त संघर्ष समिति गठन गरिएको छ।
माग तत्काल सम्बोधन नभए शान्तिपूर्ण, लोकतान्त्रिक तथा कानुनसम्मत रूपमा थप संघर्षका कार्यक्रम घोषणा गर्ने चेतावनीसमेत उनीहरूले दिएका छन्।
संयुक्त विज्ञप्तिमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौला, सार्वजनिक यातायात केन्द्रीय महासंघका अध्यक्ष डोलनाथ खनाल, अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष दीपक केसी, नेपाल ट्रक यातायात महासंघका अध्यक्ष राजेन्द्रविक्रम बानियाँ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राई र नेपाल यातायात मजदुर संघका महासचिव जगन्नाथ गौतमले हस्ताक्षर गरेका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।