काठमाण्डौ । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणलाई थप व्यवस्थित, छरितो र सहज बनाउन यातायात व्यवस्था विभाग, हुलाक सेवा विभाग र सुरक्षण मुद्रण केन्द्रबीच त्रिपक्षीय सम्झौता भएको छ।
मंगलबार पूर्वाधार विकास मन्त्रालयमा भएको सम्झौताअनुसार यातायात व्यवस्था विभागले सञ्चालन गर्दै आएको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (EDLVRS) मार्फत जारी हुने लाइसेन्सको डाटा अब सोझै सुरक्षण मुद्रण केन्द्रको प्रणालीमा जानेछ।
उक्त डाटाका आधारमा सुरक्षण मुद्रण केन्द्रमै लाइसेन्स छपाइ गरिने व्यवस्था गरिएको छ।
सम्झौताले EDLVRS प्रणालीमार्फत जारी भएका लाइसेन्स सम्बन्धित प्रदेश कार्यालयसम्म वितरण गर्ने तथा सेवाग्राहीले चाहेको ठेगानामा पुर्याउने प्रक्रियालाई समेत थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।
नयाँ व्यवस्थाबाट लाइसेन्स छपाइ तथा वितरण प्रक्रियामा देखिँदै आएको ढिलाइ कम हुनुका साथै सेवाग्राहीले लाइसेन्स प्राप्त गर्ने प्रक्रिया थप सहज हुने विश्वास गरिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।