काठमाण्डौ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले आर्थिक वर्ष २०८३/८४ का लागि नतिजामुखी र जवाफदेही कार्यसम्पादनमा जोड दिँदै सचिव, सहसचिवहरू तथा राष्ट्रिय बाल अधिकार परिषद्का सदस्य–सचिवसँग कार्यसम्पादन सम्झौता गरेको छ।
मन्त्री सिता बादीको उपस्थितिमा सम्पन्न सम्झौतामा मन्त्रालयको वार्षिक नीति, कार्यक्रम तथा लक्ष्यलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विषयलाई प्राथमिकतामा राखिएको छ।
सम्झौतामार्फत जिम्मेवारीअनुसार निर्धारित लक्ष्य हासिल गर्ने, कार्यक्रम कार्यान्वयनलाई समयबद्ध बनाउने तथा प्राप्त उपलब्धिको नियमित समीक्षा गर्ने व्यवस्था अघि सारिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका सचिव तथा सहसचिवहरूले आफूलाई तोकिएको जिम्मेवारी र कार्यक्षेत्रअनुसार नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
त्यस्तै, राष्ट्रिय बाल अधिकार परिषद्का सदस्य–सचिवले बाल अधिकार संरक्षण तथा प्रवर्द्धनसँग सम्बन्धित कार्यक्रमलाई परिणाममुखी बनाउने गरी कार्यसम्पादन गर्ने प्रतिबद्धता जनाएका छन्।
सम्झौताले मन्त्रालयअन्तर्गत सञ्चालन हुने कार्यक्रमको नियमित अनुगमन तथा मूल्याङ्कनलाई पनि प्राथमिकतामा राखेको छ। कार्यसम्पादनको प्रगति, लक्ष्य प्राप्तिको अवस्था तथा कार्यान्वयनमा देखिएका चुनौतीको नियमित समीक्षा गरी आवश्यक सुधारका कदम चालिने जनाइएको छ।
मन्त्रालयले नीति तथा कार्यक्रम कार्यान्वयनमा जिम्मेवारी स्पष्ट पार्दै सम्बन्धित पदाधिकारीलाई कामको परिणामप्रति थप जवाफदेही बनाउने उद्देश्यले कार्यसम्पादन सम्झौतालाई महत्वपूर्ण आधारका रूपमा लिएको जनाएको छ।
मन्त्री बादीको उपस्थितिमा भएको सम्झौताले मन्त्रालयको सेवा प्रवाह, कार्यक्रम कार्यान्वयन र संस्थागत जवाफदेहितालाई थप प्रभावकारी बनाउँदै आर्थिक वर्ष २०८३/८४ का निर्धारित लक्ष्य हासिल गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।