काठमाण्डौ । गृहमन्त्री सुधन गुरुङ र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपाल मौसम विज्ञान विभाग पुगेर असोज ९ गतेदेखि हुन सक्ने भारी वर्षा तथा हिमपातको सम्भावित जोखिम र पूर्वतयारीबारे जानकारी लिएका छन्।
दुवै मन्त्री मंगलबार बबरमहलस्थित विभागको कार्यालय पुगेर महानिर्देशक अर्चना श्रेष्ठ, प्रवक्ता विभूति पोखरेललगायतसँग छलफल गरेका हुन्।
छलफलका क्रममा विभागका मौसमविद्हरूले बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीका कारण नेपालका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा उच्च हिमाली क्षेत्रमा भारी हिमपात हुन सक्ने पूर्वानुमानबारे जानकारी गराएका थिए। उक्त मौसमी प्रणालीको प्रभाव देशका धेरै भागमा फैलिन सक्ने विभागले जनाएको छ।
विभागकी प्रवक्ता पोखरेलका अनुसार हालसम्मको अवस्थालाई हेर्दा गण्डकी र लुम्बिनी प्रदेशमा बढी वर्षा हुने सम्भावना देखिएको छ। भारी वर्षाका कारण डुबान, कटान तथा पहिरोको जोखिम बढ्न सक्ने भएकाले पहिचान गरिएका जोखिमयुक्त क्षेत्रमा उच्च सतर्कता अपनाउन तथा हिमाली क्षेत्रमा यात्रा नगर्न आग्रह गरिएको छ।
मौसम विभागले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सम्बन्धित मन्त्रालयसँग नियमित रूपमा सूचना आदानप्रदान भइरहेको जनाएको छ। आवश्यक पूर्वतयारीका विषयमा सम्बन्धित निकायहरू सक्रिय रहेको जानकारी आफूहरूले पाएको प्रवक्ता पोखरेलले बताइन्।
असोज ९ देखि ११ गतेसम्म उच्च सतर्कता
मौसम पूर्वानुमान महाशाखाका अनुसार उत्तर अण्डमान सागर र आसपास विकसित न्यूनचापीय क्षेत्र बंगालको खाडीको मध्यभागमा पुगेको छ र थप शक्तिशाली बन्दै ‘डिप डिप्रेसन’मा परिणत भएको छ।
यो प्रणाली पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने क्रममा बुधबारदेखि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि बढ्ने अनुमान गरिएको छ।
असोज ९ देखि ११ गतेसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा तथा एक–दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। मधेश, कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी तथा कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ।
टाढा र रातिको यात्रा नगर्न आग्रह
मौसम विभागको विशेष बुलेटिनपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
प्राधिकरणले अत्यन्त जरुरी नभए उक्त अवधिमा टाढाको तथा रातिको यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। जोखिमयुक्त राजमार्ग र सडकमा सम्भावित अवरोध हटाउन डोजर, एक्साभेटर र लोडरलगायतका उपकरण तयारी अवस्थामा राख्न पनि सम्बन्धित निकायलाई भनिएको छ।
संघीय मन्त्रालय, प्रदेश सरकार, स्थानीय तह, सुरक्षा निकाय तथा स्वयंसेवकलाई सर्वसाधारणलाई समयमै सूचना दिने र सम्भावित विपद्को प्रतिकार्यका लागि तयारी अवस्थामा रहन निर्देशन दिइएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।