गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि राहत तथा उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा कुल १५ अर्ब ५३ करोड २४ लाख ४२ हजार ९२६ रुपैयाँ मौज्दात रहेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषमा जम्मा भएको रकममध्ये ९ वटा वाणिज्य बैंकका खातामा ११ अर्ब ६३ करोड ८० लाख ९८ हजार २९१ रुपैयाँ मौज्दात छ।
त्यस्तै, कोषअन्तर्गतका दुई वटा वाणिज्य बैंकका खातामा २५ करोड ४ लाख ७१ हजार ५४६ अमेरिकी डलर समेत मौज्दात रहेको जनाइएको छ।
भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत तथा पुनर्स्थापना कार्यका लागि सरकारले उक्त कोषबाट १ अर्ब रुपैयाँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई निकासा गरिसकेको छ।
गत भदौ १० गते आएको बाढीले रसुवा, नुवाकोटलगायत क्षेत्रमा ठूलो जनधन तथा भौतिक क्षति पुर्याएपछि सरकारले राहत, उद्धार तथा पुनर्निर्माणका लागि प्रधानमन्त्री राहत कोषमा सहयोग गर्न सार्वजनिक आह्वान गरेको थियो।
देशभित्रका बैंक तथा वित्तीय संस्था, निजी क्षेत्र, विभिन्न संघसंस्था, व्यक्तिसँगै विदेशी निकाय तथा दाताहरूबाट समेत कोषमा सहयोग रकम जम्मा हुँदै आएको छ।
सरकारले प्रभावित क्षेत्रको तत्काल राहतसँगै पुनर्स्थापना र पुनर्निर्माणका कार्यक्रम अघि बढाउन कोषको रकम परिचालन गर्ने जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।