काठमाण्डौ । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी सेवामा प्रवेश गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटका एक कर्मचारीविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।
आयोगले माधव नारायण नगरपालिकाको कार्यालयमा सामाजिक परिचालक, सहायकस्तर पाँचौं तहमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव विरुद्ध मुद्दा दायर गरेको हो।
आयोगका अनुसार यादवले सरकारी सेवामा प्रवेश गर्ने क्रममा बिहार इन्टरमिडिएट एजुकेसन काउन्सिल, पटनाबाट जारी भएको देखिने आईए तहको शैक्षिक प्रमाणपत्र पेस गरेका थिए। सोही प्रमाणपत्रका आधारमा उनले तत्कालीन जिल्ला विकास समितिको कार्यालयमा नियुक्ति लिएको आयोगको दाबी छ।
अनुसन्धानका क्रममा उक्त शैक्षिक प्रमाणपत्र झुट्टा तथा नक्कली रहेको खुलेको आयोगले जनाएको छ।
आयोगका अनुसार यादवले नक्कली प्रमाणपत्रकै आधारमा सरकारी सेवामा प्रवेश गरी लामो समयसम्म राष्ट्रसेवकका रूपमा काम गर्दै पद, ओहदा, पारिश्रमिक तथा अन्य सरकारी सुविधा प्राप्त गरेका थिए।
यादवको शैक्षिक योग्यतासम्बन्धी प्रमाणपत्र नक्कली रहेको उजुरी परेपछि आयोगले अनुसन्धान सुरु गरेको थियो। अनुसन्धानपछि नियुक्ति लिन तथा सेवामा निरन्तर रहन नक्कली प्रमाणपत्र प्रयोग गरिएको निष्कर्षमा आयोग पुगेको हो।
आयोगले यादवविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १२ तथा दफा २९ को उपदफा (२) बमोजिम कसुर गरेको आरोप लगाएको छ। त्यस्तै, नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको अभियोगमा सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिमसमेत कारबाही माग गरिएको छ।
आयोगले यादवलाई प्रचलित कानुनअनुसार कैद तथा जरिवाना सजायको मागदाबी गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।