काठमाण्डौ । एसियाली खेलकुद प्रतियोगिता (एसियाड) अन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वाटरफाइनलमा प्रवेश गरेको छ। शनिबार बिहान समूह ‘ए’ अन्तर्गत जापानसँगको खेल वर्षाका कारण रद्द भएपछि नेपाल समूह विजेताका रूपमा अन्तिम आठमा पुगेको हो।
नेपालसँग पराजित भएको अफगानिस्तान भने समूह उपविजेताका रूपमा क्वाटरफाइनलमा प्रवेश गरेको छ। क्वाटरफाइनलमा नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ भने अफगानिस्तानले भारतको सामना गर्नेछ।
जापानविरुद्धको खेल वर्षाका कारण सुरुवातदेखि नै प्रभावित भएपछि खेल १५ ओभरमा छोट्याइएको थियो। नेपालले पहिले ब्याटिङ गर्दै आक्रामक प्रदर्शन गरेको थियो।
नेपालका लागि सन्दीप जोराले विष्फोटक ब्याटिङ गर्दै ३२ बलमा पाँच चौका र तीन छक्काको मद्दतमा ५७ रन बनाए। त्यस्तै लोकेश बमले २२ बलमा एक चौका र छ छक्कासहित ५२ रनको अर्धशतकीय इनिङ खेले। आसिफ शेखले २१ रनको योगदान दिए।
नेपालले बलियो योगफल तयार गरे पनि दोस्रो इनिङ सुरु भएपछि वर्षा पुनः बाधक बनेको थियो। लगातार वर्षाका कारण खेल अघि बढ्न नसकेपछि अन्ततः खेल रद्द गरिएको हो।
समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालले समूह विजेताको रूपमा क्वाटरफाइनलमा स्थान बनाएको छ। अब नेपाली टोलीको लक्ष्य श्रीलंकाविरुद्धको खेल जित्दै प्रतियोगिताको सेमिफाइनलमा स्थान सुरक्षित गर्नु हुनेछ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।