काठमाण्डौ । जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न भागमा जारी अविरल वर्षाका कारण बाढी र पहिरोको जोखिम बढेको भन्दै किसानलाई मौसममा सुधार नआएसम्म धान नकाट्न आग्रह गरेको छ।
विभागका मौसमविद् रोजन लामिछानेले प्रतिकूल मौसमका कारण बाली तथा जनधनको क्षति हुनसक्ने भएकाले किसानलाई सतर्कता अपनाउन सुझाव दिएका हुन्।
लामिछानेले मौसम खुलेपछि मात्र धान काट्ने योजना बनाउन आग्रह गरे। उनले विशेषगरी जमिन चिरा परेको, पहिरोको संकेत देखिएको वा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई थप सचेत रहन आग्रह गरे। त्यस्ता स्थानका बासिन्दालाई आवश्यक परे तत्काल सुरक्षित स्थानमा सर्न र छिमेकीलाई समेत जानकारी गराउन उनले अनुरोध गरे।
विभागले नदी तथा खोला किनारमा बसोबास गर्ने समुदायलाई जलसतह बढ्न सक्ने भएकाले उच्च सतर्कता अपनाउन भनेको छ। स्थानीय प्रशासन र प्रहरीले गर्ने माइकिङ तथा साइरनलाई बेवास्ता नगर्न पनि आग्रह गरिएको छ।
विपद्को समयमा सही सूचना महत्वपूर्ण हुने भन्दै विभागले सर्वसाधारणलाई मौसमसम्बन्धी पछिल्लो जानकारी नियमित रूपमा लिन आग्रह गरेको छ। मौसमसम्बन्धी जानकारी वा जिज्ञासाका लागि विभागको टोल फ्री नम्बर ११५५ मा सम्पर्क गर्न सकिने जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।