आईतवार, आश्विन ११,२०८३ 01:04:20
Bizshala
  • आईतवार, आश्विन ११,२०८३ 01:04:20
Bizshala
Global IME Bank Limited

बाढी–पहिरोले मनाङ सदरमुकाम चामे तहसनहस, जङ्गलतिर भागेर ज्यान जोगाएको स्थानीयको भनाई

बाढी–पहिरोले मनाङ सदरमुकाम चामे तहसनहस, जङ्गलतिर भागेर ज्यान जोगाएको स्थानीयको भनाई
New Office

 

काठमाण्डौ ।  लगातारको वर्षासँगै आएको बाढी र पहिरोले मनाङको सदरमुकाम चामे र आसपासका क्षेत्रलाई गम्भीर रूपमा प्रभावित बनाएको छ। ठाडो खोला र मर्स्याङ्दी नदीमा आएको बाढी बस्तीमा पसेपछि केही घर बगेका छन् भने सडक, पुल र अन्य भौतिक संरचनामा ठूलो क्षति पुगेको छ।

स्थानीयका अनुसार बाढीले चारदेखि पाँच वटा घर बगाएको छ। बस्तीमा एक्कासि बाढी पसेपछि स्थानीयवासी राति नै घर छाडेर जङ्गल तथा सुरक्षित डाँडातर्फ भागेका थिए।

चामेकी सामुदायिक स्वास्थ्य अधिकृत छोडेन याङचेन लामाका अनुसार राति करिब साढे ११ बजे अवस्था जोखिमपूर्ण बनेपछि स्थानीय ज्यान जोगाउन सुरक्षित स्थानतर्फ भागेका थिए।

हालसम्म मानवीय क्षतिको विवरण नआए पनि भौतिक क्षति ठूलो रहेको उनले बताइन्।

दुई काठेपुल बगे, आवतजावत ठप्प

ठाडो खोलामा आएको बाढीले कृषि ज्ञान केन्द्र आसपासका घरमा समेत क्षति पुर्‍याएको छ। सदरमुकाम क्षेत्रमा रहेका दुईवटा काठेपुल बगाएपछि स्थानीय आवतजावतमा ठूलो समस्या उत्पन्न भएको छ।

झोलुङ्गे पुलसमेत माथिबाट निरन्तर खसिरहेको माटो र ढुङ्गाका कारण जोखिममा परेको छ। यसअघि कोतो र तिल्चे जोड्ने पुलहरू पनि बाढीले बगाइसकेको स्थानीयले बताएका छन्।

पुल र सडकमा क्षति पुगेपछि चामे बाहिरी क्षेत्रसँग भौगोलिक रूपमा लगभग सम्पर्कविच्छेदको अवस्थामा पुगेको छ।

तीन दिनदेखि सञ्चार समस्या

चामे क्षेत्रमा तीन दिनदेखि सञ्चार सेवा प्रभावित भएको थियो। केही समयअघि सञ्चार सम्पर्क आंशिक रूपमा पुनः जोडिए पनि सेवा भरपर्दो बन्न नसकेको स्थानीयले बताएका छन्।

मर्स्याङ्दी नदीको बहाव अत्यधिक बढेका कारण नदी किनारका बस्ती उच्च जोखिममा छन्। तातोपानी क्षेत्रमा समेत पहिरोले क्षति पुर्‍याएको बताइएको छ।

माथिबाट लेदो र ढुङ्गा खस्ने क्रम नरोकिएकाले मौसममा सामान्य सुधार देखिए पनि जोखिम कायमै छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

सरकारी भवनमा आश्रय, खाना र ओढ्ने–ओछ्याउनेको अभाव

जोखिममा परेका स्थानीयलाई अस्पताल, नापी कार्यालय, जनस्वास्थ्य कार्यालय तथा प्रहरी ब्यारेकलगायत सरकारी भवनमा राखिएको छ।

तर विस्थापितहरूका लागि खाद्यान्न, ओढ्ने–ओछ्याउने र अन्य आधारभूत सामग्रीको अभाव देखिन थालेको छ।

बालबालिका, वृद्धवृद्धा र बिरामीलाई सुरक्षित राख्न कठिनाइ भइरहेको स्थानीयले बताएका छन्।

पर्यटकसमेत अलपत्र

सडक र पुल बगेसँगै चामे तथा आसपासका क्षेत्रमा रहेका पर्यटकसमेत अलपत्र परेका छन्।

पदयात्राका लागि मनाङ पुगेका पर्यटक सडकमार्गबाट बाहिरिन नसक्ने अवस्थामा रहेकाले उनीहरूको शीघ्र उद्धार गर्न स्थानीय व्यवसायीहरूले माग गरेका छन्।

भौगोलिक सम्पर्क टुटेको र आवश्यक खाद्यान्नको अभाव बढ्न थालेकाले स्थानीयवासीले पर्यटक, बिरामी, बालबालिका तथा वृद्धवृद्धालाई हेलिकप्टरमार्फत सुरक्षित स्थानमा उद्धार गर्न सरकारसँग आग्रह गरेका छन्।

बाढी र पहिरोको जोखिम कायमै रहेकाले नदी किनार तथा पहिरो सम्भावित क्षेत्रमा रहेका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.