काठमाण्डौ । कालीगण्डकी नदीमा आएको बाढी बस्तीमा पसेपछि पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा करिब ८० घर बगेका छन्।
शनिबार रातिदेखि नदीको बहाव बढेर बस्तीमा पस्न थालेपछि स्थानीयवासी सुरक्षित स्थानतर्फ सरेका छन्। बाढीबाट मानवीय क्षति भए–नभएको भने अझै यकिन हुन सकेको छैन।
बाढीले थप घरसमेत उच्च जोखिममा पारेपछि सशस्त्र प्रहरी बल नेपाल नम्बर २५ चण्डिका गण पर्वत र नेपाल प्रहरीको संयुक्त टोली प्रभावित क्षेत्रमा परिचालन गरिएको छ।
सुरक्षाकर्मीको टोलीले जोखिममा रहेका स्थानीयवासीलाई सुरक्षित स्थानमा सार्नुका साथै सम्भव भएका जिन्सी सामानसमेत स्थानान्तरण गरिरहेको छ।
बाढी प्रभावित क्षेत्रमा विद्युत् तथा टेलिफोन सम्पर्कमा समेत समस्या देखिएको छ। त्यसका कारण क्षतिको विस्तृत विवरण संकलनमा कठिनाइ भइरहेको छ।
सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार घटनास्थलबाट पूर्ण विवरण आउन बाँकी छ।
कालीगण्डकीको बहाव उच्च रहेकाले नदी किनारका अन्य बस्तीसमेत जोखिममा परेका छन्। प्रभावित क्षेत्रमा सुरक्षा निकायले उद्धार तथा जोखिम न्यूनीकरणको काम जारी राखेका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।