काठमाण्डौ । गएरातिदेखि परेको अविरल वर्षापछि कालीगण्डकी नदीमा आएको बाढीले पर्वतमा ६६ घर पूर्ण रूपमा बगाएको छ। थप २३ घर उच्च जोखिममा रहेका छन्।
जलजला गाउँपालिका–८, फर्सेस्थित कालीगण्डकी नदीको बहाव बढेपछि नदी आसपासका घरहरू बाढीको चपेटामा परेका हुन्। बाढीले ६६ घर पूर्ण रूपमा बगाए पनि स्थानीयलाई समयमै सुरक्षित स्थानमा स्थानान्तरण गरिएकाले मानवीय क्षति हुनबाट जोगिएको छ।
उच्च जोखिममा रहेका २३ घरका परिवारलाई समेत सुरक्षित स्थानतर्फ सार्ने काम भइरहेको छ। सशस्त्र प्रहरीका अनुसार जोखिममा रहेका घरभित्रका सामान तथा महत्वपूर्ण सामग्री सुरक्षित स्थानमा सारिँदैछ।
लगातारको वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव अझै बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। उद्धार तथा स्थानान्तरणका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।