काठमाण्डौ । अविरल वर्षाका कारण अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड पुनः सञ्चालनमा आएको छ। नाम्सीखोला पुल क्षेत्रमा थुप्रिएको लेदोसहितको पहिरो हटाइएसँगै सडकमा सवारी आवागमन सुरु भएको हो।
सडक डिभिजन कार्यालय चितवनका अनुसार आइतबार बिहान ७ः५५ बजे नाम्सीखोलामा लेदोसहितको पहिरो खसेको थियो। पहिरो पन्छाउने काम सम्पन्न भएपछि दिउँसो १२ः१५ बजेदेखि सडक पूर्ण रूपमा सञ्चालनमा आएको कार्यालयका सूचना अधिकारी इञ्जिनियर कृष्ण आचार्यले जानकारी दिए।
सडक खुलेसँगै पोखराबाट नारायणगढतर्फ तथा नारायणगढबाट पोखरातर्फ जाने यात्रुवाहक तथा मालवाहक सवारीसाधन गन्तव्यतर्फ अघि बढ्न थालेका छन्।
पृथ्वी राजमार्गका ११ स्थानमा अवरोध
यता, लगातारको वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिन सडकखण्ड भने विभिन्न स्थानमा अवरुद्ध छ।
नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिमखण्डका अनुसार उक्त सडकखण्डका कम्तीमा ११ स्थानमा पहिरो, लेदो, ढुङ्गा तथा रुख खसेर सवारी आवागमन प्रभावित भएको छ।
शीलतबजार क्षेत्रमा लेदो र रुखसहितको पहिरो खसेको छ भने सडकको केही भाग भासिएको छ। बेनिघाट बजार नजिकैको गोमती खोलामा लेदोसहितको पहिरो आएपछि सडक एकतर्फी रूपमा सञ्चालन भइरहेको छ।
त्यस्तै कृष्णभीरमा माथिबाट लेदोसहितको पहिरो खसेर सडक अवरुद्ध भएको छ। ज्यामिरेघाट चौकीभीरमा ढुङ्गा र लेदोसहितको पहिरो खसेको छ भने हुग्दी खोलादेखि जवाङखोलासम्मका विभिन्न स्थानमा साना पहिरो खसेका छन्।
फिस्लिङ आसपासका तीन स्थानमा गरी करिब २०० मिटर सडक क्षेत्रमा ढुङ्गा, लेदो र रुखसहितको पहिरो खसेको छ। उक्त क्षेत्रको करिब ३० मिटर सडकको आधा भाग चर्किएको छ।
चुम्लिङटारमा ढुङ्गासहितको पहिरो खसेको छ भने धारापानीका दुई स्थानमा गरी करिब ५० मिटर सडकको आधा भाग भत्किएको छ।
धारापानी क्षेत्रमा कल्भर्ट खुलाउने काम भइरहेको छ। त्यस्तै घोप्टेभीर र सिमलधारामा ठूला ढुङ्गा र लेदोसहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको छ।
नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिमखण्डका सूचना अधिकारी इञ्जिनियर सचिन्द्र मिश्रका अनुसार सबै प्रभावित स्थानमा पहिरो पन्छाउने काम तीव्र रूपमा भइरहेको छ।
अब थप ठूलो पहिरो नखसे साँझसम्म अवरोध हटाएर पृथ्वी राजमार्गमा सवारी सञ्चालनमा ल्याउने तयारी रहेको उनले जानकारी दिए।
पहिरो पन्छाउन सडक निर्माणको जिम्मा लिएका ठेकेदार कम्पनीका उपकरणसमेत परिचालन गरिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।