काठमाण्डौ । नार्पाभूमि गाउँपालिका–५ स्थित हिमलुङ हिमालमा गएको हिमपहिरोमा परी बेपत्ता भएका १० जनामध्ये दुई जनाको शव फेला परेको छ। उद्धार टोलीले हेलिकप्टरमार्फत दुवै शवलाई सदरमुकाम चामे ल्याएको मनाङ प्रशासनले जनाएको छ।
मनाङका प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालका अनुसार आइतबार थप खोज तथा उद्धार गर्न सम्भव नभएपछि अभियान स्थगित गरिएको छ। बाँकी बेपत्ताको खोजी तथा उद्धार सोमबार पुनः सुरु गरिने उनले जानकारी दिए।
हिमपहिरो गएको क्षेत्रमा ठाडो खोलामा एकैपटक बाढीसमेत आएपछि उद्धार कार्य प्रभावित भएको प्रशासनले जनाएको छ। लगातारको वर्षासँगै आएको बाढीका कारण जिल्लाको विद्युत् र सञ्चार सेवामा समेत समस्या देखिएको छ।
हिमलुङ हिमालतर्फ गएका अन्य १० जना भने सम्पर्कमा आएका छन्। उनीहरूलाई सुरक्षित स्थानमा राख्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी खनालले बताए।
यसअघि हिमपहिरो र त्यसपछि आएको बाढीका कारण क्षेत्रमा जोखिम बढेपछि प्रशासनले उद्धार तथा खोजीलाई प्राथमिकता दिएको थियो। प्रतिकूल मौसम र भौगोलिक कठिनाइका कारण घटनास्थलमा उद्धार टोली परिचालन गर्न चुनौती देखिएको छ।
हिमपहिरोपछि ठाडो खोलाबाट बगेको लेदो चामे क्षेत्रमा मर्स्याङ्दी नदीमा जम्मा हुँदा अस्थायी ताल बनेको प्रशासनले जनाएको छ। तर तत्कालै आत्तिनुपर्ने अवस्था नरहेको प्रमुख जिल्ला अधिकारी खनालले बताएका छन्।
प्रशासनले नदीको अवस्थामाथि निगरानी गरिरहेको जनाएको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै स्थानीय तह तथा सुरक्षा निकायलाई समेत सतर्क अवस्थामा राखिएको छ।
लगातारको वर्षापछि आएको बाढीले चामे क्षेत्रमा भौतिक संरचनामा समेत ठूलो क्षति पुर्याएको छ। बाढीले दुई वटा काठेपुल र दुई वटा कजवे बगाएको प्रशासनले जनाएको छ।
चामेमा पाँच वटा घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ताल गाउँमा करिब १० घर डुबानमा परेका छन्। त्यस्तै, नासों गाउँपालिकामा मर्स्याङ्दी नदीमाथिको झोलुंगे पुलसमेत बाढीले बगाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।