काठमाण्डौ । यस वर्षको बाढी र पहिरोका कारण राष्ट्रिय विद्युत् प्रणालीमा करिब १ हजार मेगावाट विद्युत् उत्पादन अवरुद्ध भएको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बताएका छन् ।
सोमबार संसद् भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री श्रेष्ठले बाढीपहिरोले जलविद्युत् आयोजना, प्रसारण लाइन तथा वितरण संरचनामा ठूलो क्षति पुर्याउँदा विद्युत् उत्पादन र प्रवाह दुवै प्रभावित भएको बताए ।
उनका अनुसार पछिल्लो वर्षाका कारण कालीगण्डकी कोरिडोर प्रसारणलाइन अवरुद्ध हुँदा मात्रै १३ वटा आयोजनाको करिब ३७० मेगावाट विद्युत् उत्पादन प्रभावित भएको छ ।
मन्त्री श्रेष्ठले विद्युत् उत्पादन भइरहे पनि पर्याप्त प्रसारण पूर्वाधार नहुँदा उत्पादित बिजुली प्रणालीमा प्रवाह गर्न समस्या देखिएको उल्लेख गरे ।
उनले हेटौंडा–ढल्केवर प्रसारण लाइन चार्ज भएपछि पूर्वको विद्युत् पश्चिम र पश्चिमको विद्युत् पूर्वतर्फ पठाउन सहज हुने बताए । यसले पूर्व–पश्चिम विद्युत् प्रवाहमा देखिएको अवरोध कम गर्न सहयोग पुग्ने उनको भनाइ छ ।
विद्युत् प्रणाली व्यवस्थापनका लागि सरकारले आन्तरिक उत्पादनलाई प्राथमिकतामा राखेको र अपुग विद्युत् भारतबाट आयात गरेर आपूर्ति व्यवस्थापन भइरहेको मन्त्री श्रेष्ठले जानकारी दिए ।
बाढीपहिरोका कारण उत्पादनसँगै प्रसारण पूर्वाधारमा परेको क्षतिले विद्युत् प्रणालीमाथि थप दबाब सिर्जना गरेको उनको भनाइ छ


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।