काठमाण्डौ । मनाङको नार्फाभूमि गाउँपालिका–५ स्थित हिमलुङ क्षेत्रमा गएको हिमपहिरोमा बेपत्ता १२ जनाको खोजी कार्य अत्यन्त कठिन बनेको छ। करिब ५ हजार २०० मिटर उचाइमा गएको हिमपहिरोमा अहिलेसम्म चार जनाको शव फेला परेको छ भने १२ जनाको अवस्था अझै अज्ञात छ।
हिमपहिरोमा परेका २७ जना नेपाली कामदारमध्ये ११ जना सकुशल सम्पर्कमा आएका छन्। उनीहरू काठमाडौँस्थित दुईवटा टुरिस्ट कम्पनीमार्फत हिमलुङ क्षेत्रमा बेसक्याम्प निर्माणका लागि गएका थिए।
मनाङ प्रशासनका अनुसार आइतबार हिमपहिरो गएपछि खोज तथा उद्धार सुरु गरिएको थियो। आइतबार दुई र सोमबार थप दुई जनाको शव फेला परेको हो।
मृत्यु हुनेमा वीरेन्द्र गुरुङ, घनश्याम राई, छेवी भोटे र पासाङ भोटे रहेको नेपाल राष्ट्रिय पर्वतीय गाइड संघले जनाएको छ।
तर उच्च हिमाली भूगोल, बाक्लो हिउँ र अर्को हिमपहिरोको जोखिमका कारण खोजी कार्य थप जटिल बनेको छ। उद्धारकर्मीहरूले घटनास्थलमा करिब ८ फिटसम्म हिउँ खनेर खोजी गरे पनि थप बेपत्ताको अवस्था पत्ता लाग्न नसकेको प्रशासनले जनाएको छ।
उद्धारमा खटिएका टोलीले अहिलेको अवस्थामा हिउँ नपग्लिएसम्म प्रभावकारी खोजी सम्भव नहुने जानकारी दिएको छ। घटनास्थल वरपर उद्धारकर्मी रहे पनि पुनः ठूलो हिमपहिरो जाने जोखिमका कारण सक्रिय खोजी रोकिएको छ।
स्थानीय प्रशासनले पनि उच्च हिमाली क्षेत्रको जोखिमका कारण आफ्ना सुरक्षाकर्मीलाई प्रत्यक्ष परिचालन गर्न कठिन रहेको जनाएको छ। तालिमप्राप्त उच्च हिमाली उद्धारकर्मीमार्फत मात्रै खोजी सम्भव हुने अवस्था रहेको प्रशासनको भनाइ छ।
हेलिकप्टरबाट सुरक्षाकर्मी पठाए पनि बाक्लो हिउँभित्र पुरिएका व्यक्तिको खोजीमा तत्काल प्रभावकारी काम गर्न नसकिने निष्कर्ष उद्धार टोलीको छ।
बेपत्ता १२ जना हिमपहिरोमै पुरिएको आशंका गरिएको छ। उनीहरूको खोजी कसरी अगाडि बढाउने भन्ने विषयमा अब माथिल्लो तहबाट थप निर्णय हुने अपेक्षा गरिएको छ।
२७ मध्ये ११ मात्रै फर्किए
हिमलुङ क्षेत्रमा बेसक्याम्प निर्माणका लागि पुगेका २७ जना नेपाली कामदार हिमपहिरोमा परेका थिए। तीमध्ये ११ जना सकुशल फर्किएका छन्। चार जनाको शव भेटिएको छ भने बाँकी १२ जना अझै बेपत्ता छन्।
उच्च हिमाली क्षेत्रमा मौसम र भूगोल प्रतिकूल रहँदा खोज तथा उद्धार कार्य कहिले पुनः सुरु हुन्छ भन्ने यकिन हुन सकेको छैन।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।