काठमाडौँ। कोटेश्वरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडका श्रमिकले श्रम अदालतको फैसला तत्काल कार्यान्वयन गर्न माग गर्दै आन्दोलन थालेका छन्।
२५ वर्षदेखि कम्पनीमा कार्यरत श्रमिकहरूले न्यूनतम पारिश्रमिक, नियुक्तिपत्र, सामाजिक सुरक्षा कोष, उपदान तथा विभिन्न बिदाको सुविधाबाट वञ्चित भएको भन्दै श्रम तथा रोजगार कार्यालय र श्रम अदालतमा कानुनी उपचार खोजेका थिए।
श्रम तथा रोजगार कार्यालयले २०८० जेठ ४ गते श्रमिकको पक्षमा निर्णय गर्दै श्रम ऐन, २०७४ बमोजिमका सेवा–सुविधा उपलब्ध गराउन कम्पनीलाई निर्देशन दिएको थियो। उक्त निर्णयविरुद्ध कम्पनीले गरेको पुनरावेदनमाथि श्रम अदालत भक्तपुरले २०८१ जेठ ३२ गते कार्यालयकै निर्णय सदर गर्दै कम्पनीको दाबी खारेज गरेको थियो।
अदालतले श्रमिकलाई कानुनले तोकेको न्यूनतम पारिश्रमिक १५ हजारभन्दा कम दिनु कानुनविपरीत भएको ठहर गर्दै कट्टा गरिएको पारिश्रमिक फिर्ता गर्न तथा सञ्चय कोष, उपदान, बिरामी र घर बिदालगायत सुविधा उपलब्ध गराउन आदेश दिएको थियो।
फैसला कार्यान्वयनका लागि सम्बन्धित निकायमा पत्राचार भइसके पनि लामो समयसम्म व्यवस्थापनले कार्यान्वयनमा आलटाल गरेको भन्दै श्रमिकहरू आन्दोलनमा उत्रिएका हुन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।