काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइज सुदूरपश्चिम रोयल्सको स्वामित्व र सञ्चालकको योग्यतामाथि प्रश्न उठाउँदै नेपाल क्रिकेट संघ (क्यान)सँग छानबिनको माग गरिएको छ।
सुदूरपश्चिम रोयल्सको फ्रेन्चाइज अधिकार एम्पायर स्पोर्ट्स म्यानेजमेन्ट प्रालिसँग छ। फ्रेन्चाइजको आधिकारिक विवरणमा स्वतन्त्र प्रताप शाहलाई मालिकका रूपमा उल्लेख गरिएको छ। रोयल्सको आफ्नै वेबसाइटले पनि शाहले एम्पायर स्पोर्ट्स म्यानेजमेन्टमार्फत एनपीएलको फ्रेन्चाइज अक्सनबाट टोली लिएको उल्लेख गरेको छ।
तर पछिल्लो समय फ्रेन्चाइज खरिद प्रक्रिया, वास्तविक स्वामित्व संरचना र क्यानले स्वीकृति दिँदा अपनाएको प्रक्रियाबारे प्रश्न उठाउँदै सम्बन्धित कागजात सार्वजनिक गर्न माग गरिएको हो। यस विषयमा क्यानसमक्ष निवेदनसमेत परेको र स्वामित्व तथा योग्यता सम्बन्धी विषयमा छानबिन गर्न आग्रह गरिएको रातोपाटीले जनाएको छ।
एनपीएलको पहिलो संस्करणअघि क्यानले २०२४ सेप्टेम्बरमा फ्रेन्चाइज स्वामित्वका लागि बोलकबोल गरेको थियो। त्यतिबेला एम्पायर स्पोर्ट्स म्यानेजमेन्ट प्रालिले सुदूरपश्चिम फ्रेन्चाइज १ करोड ६८ लाख ८८ हजार ८८८ रुपैयाँमा खरिद गरेको थियो। Ratopati
क्यानसँग कागजात सार्वजनिक गर्न माग
उठाइएको प्रश्नको केन्द्रमा फ्रेन्चाइज स्वामित्व स्वीकृत गर्दा क्यानले मागेका योग्यता, कम्पनीको शेयर स्वामित्व संरचना, सम्झौता तथा बोलकबोलका क्रममा बुझाइएका कागजात रहेका छन्।
निवेदक पक्षले सुदूरपश्चिम रोयल्सको स्वामित्वसम्बन्धी विवाद वा आशंका हटाउन क्यानले सम्बन्धित कागजात सार्वजनिक गर्नुपर्ने माग गरेको छ। साथै, फ्रेन्चाइज छनोटमा क्यानले तोकेका मापदण्ड पूर्ण रूपमा पालना भए–नभएको स्वतन्त्र रूपमा परीक्षण गर्नुपर्ने आवाज उठेको छ।
आधिकारिक रूपमा एम्पायर स्पोर्ट्स नै मालिक
हाल सार्वजनिक रूपमा उपलब्ध विवरणमा भने सुदूरपश्चिम रोयल्सको स्वामित्व एम्पायर स्पोर्ट्स म्यानेजमेन्ट प्रालिसँग रहेको उल्लेख छ। फ्रेन्चाइजले स्वतन्त्र प्रताप शाहलाई मालिक तथा प्रकाश खड्कालाई प्रमुख कार्यकारी अधिकृतका रूपमा प्रस्तुत गरेको छ।
एनपीएल सुरु भएदेखि सुदूरपश्चिम रोयल्स प्रतियोगिताको प्रमुख टोलीमध्ये एक बनेको छ। टोलीले पहिलो संस्करणमा फाइनलसम्म यात्रा गरेको थियो भने फ्रेन्चाइजको ब्रान्डिङ र व्यवस्थापन पनि एम्पायर स्पोर्ट्सकै नामबाट हुँदै आएको छ।
तर अहिले उठेको प्रश्न टोलीको मैदानभित्रको प्रदर्शनभन्दा पनि फ्रेन्चाइज स्वामित्वको कानुनी तथा प्रक्रियागत पारदर्शितासँग जोडिएको छ।
अब क्यानले यस विषयमा औपचारिक छानबिन गर्छ कि गर्दैन, फ्रेन्चाइज स्वामित्वसम्बन्धी कागजात सार्वजनिक गर्छ कि गर्दैन र उठाइएका प्रश्नमा सुदूरपश्चिम रोयल्स वा एम्पायर स्पोर्ट्सबाट कस्तो जवाफ आउँछ भन्ने विषय चासोमा परेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।