वासिङ्टन। अमेरिकामा डिजेलको अभाव देखिन थालेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले देशबाट डिजेल निर्यातमा प्रतिबन्ध लगाउनेबारे विचार भइरहेको संकेत दिएका छन्। उनले आवश्यक परे युरोपेली देशहरूसँग उनीहरूले सञ्चित गरेर राखेको डिजेलको केही हिस्सा बजारमा उपलब्ध गराउन आग्रह गर्न सकिने बताएका छन्।
ट्रम्पको यस्तो भनाइ अमेरिकी अर्थमन्त्री स्कट बेसन्टले युरोपेली देशहरूलाई डिजेलको पर्याप्त भण्डार कायम राख्न र आवश्यकता परेको अवस्थामा त्यसलाई बजारमा ल्याउन आग्रह गरेपछि आएको हो।
बेसन्टले बढ्दो डिजेल मूल्यको भार अमेरिकी किसान, ट्रक चालक तथा व्यवसायीमाथि पर्न नहुने बताएका छन्।
इरानमा जारी युद्धका कारण ऊर्जा बजारमा मूल्य बढिरहेका बेला अमेरिकाले डिजेल निर्यातमा प्रतिबन्ध लगाउन सक्ने चेतावनी दिएको हो। अमेरिकामा हुन लागेको मध्यावधि निर्वाचनअघि इन्धनको मूल्य र आपूर्तिको विषय मतदाताका लागि महत्त्वपूर्ण मुद्दा बनेको छ।
यसैबीच, बिहीबार बेलायतले सम्भावित निर्यात प्रतिबन्धको अवस्था उत्पन्न भएमा युरोपेली साझेदारहरूसँग मिलेर डिजेलको भण्डार बजारमा ल्याउने विषयमा छलफल गरेको छ।
अमेरिका विश्व बजारमा डिजेल आपूर्ति गर्ने प्रमुख देशमध्ये एक हो। उसले दैनिक करिब १२ लाखदेखि १५ लाख ब्यारेलसम्म डिजेल निर्यात गर्ने गरेको छ।
विशेषज्ञहरूले भने विदेशतर्फको डिजेल आपूर्तिमा प्रतिबन्ध लगाइएमा अन्तर्राष्ट्रिय बजारमा आपूर्ति थप प्रभावित भई अन्य देशमा डिजेलको मूल्यमा थप दबाब पर्न सक्ने चेतावनी दिएका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।