काठमाण्डौ । महाकाली नदीमा आएको बाढीबाट क्षतिग्रस्त दोधारा–चाँदनी र भीमदत्तनगर जोड्ने ऐतिहासिक झोलुङ्गे पुलको स्थलगत निरीक्षण गर्न काठमाडौंस्थित प्राविधिक टोली सुदूरपश्चिम पुगेको छ।
शहरी विकास मन्त्रालयअन्तर्गतको सस्पेन्सन ब्रिज डिभिजन, ललितपुरका उपमहानिर्देशक कमल अधिकारीको नेतृत्वमा रहेको टोली बिहीबार साँझ कैलालीको धनगढी पुगेको हो। टोलीले शुक्रबार कञ्चनपुरको दोधारा–चाँदनी पुगेर पुलको क्षतिको विस्तृत अवस्था निरीक्षण गर्नेछ।
उपमहानिर्देशक अधिकारीका अनुसार पुलको स्थलगत अवस्था अध्ययन गरेपछि आवश्यक निर्णय लिइनेछ। उनले उक्त पुल आफूहरूकै निकायले निर्माण गरेको उल्लेख गर्दै क्षतिको प्राविधिक मूल्यांकनका आधारमा पुनर्निर्माण वा मर्मतसम्बन्धी प्रक्रिया अघि बढाइने बताए।
पुल क्षतिग्रस्त भएकै दिन कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइराला स्थलगत निरीक्षणका लागि दोधारा–चाँदनी पुगेका थिए। उनले प्राविधिक अध्ययनपछि प्राप्त प्रतिवेदनका आधारमा पुल पुनर्निर्माणको प्रक्रिया अघि बढाइने बताएका थिए।
प्रमुख जिल्ला अधिकारी कोइरालाले बिहीबार नै गृह मन्त्रालयलाई पत्राचार गरी पुल मर्मत तथा पुनःस्थापनाका लागि आवश्यक समन्वय गरिदिन आग्रह गरेका छन्।
गत बुधबार महाकाली नदीमा आएको बाढीले झोलुङ्गे पुलको एक भागको संरचना चुँडिएर नदीतर्फ लत्रिएको थियो। त्यसयता पुलबाट आवतजावत पूर्ण रूपमा बन्द गरिएको छ।
कोइरालाका अनुसार पुलको संरचना चुँडिएर नदीमा झरेको स्थानमा पानीको बहावसमेत अत्यधिक तीव्र देखिएको छ। प्राविधिक टोलीको स्थलगत अध्ययनपछि पुलको वास्तविक क्षतिको अवस्था र मर्मत तथा पुनर्निर्माणका लागि आवश्यक प्रक्रियाबारे थप स्पष्ट हुने अपेक्षा गरिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।