काठमाण्डौ । नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङ नेतृत्वको सात सदस्यीय टोली उत्तरी सीमा नाका कोरला हुँदै नेपाल प्रवेश गरेको छ। रसुवागढी र तातोपानी नाका बन्द रहेका बेला कोरला नाकाको पछिल्लो अवस्था बुझ्न टोली मुस्ताङ आएको हो।
शनिबार कोरला नाका हुँदै उपल्लो मुस्ताङको लोमान्थाङ पुगेको टोली अहिले जिल्ला सदरमुकाम जोमसोमतर्फ आउँदै गरेको मुस्ताङ प्रशासनले जनाएको छ।
मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी एकनारायण भण्डारीका अनुसार राजदूत चाङले प्रमुख जिल्ला अधिकारीसँग भेटेर नाकाको अवस्था र सीमा क्षेत्रमा देखिएका समस्याबारे छलफल गर्ने कार्यक्रम छ।
भ्रमणको विस्तृत कार्यतालिका औपचारिक रूपमा प्राप्त नभए पनि जिल्ला प्रशासन कार्यालयले टोलीको सुरक्षा व्यवस्थासहित आवश्यक तयारी गरेको जनाएको छ।
नेपाल–चीनका प्रमुख व्यापारिक नाका रसुवागढी र तातोपानी अहिले बन्द छन्। भदौ १० गते भोटेकोशीमा आएको बाढीले रसुवागढी नाका तथा सडकमा ठूलो क्षति पुर्याएपछि उक्त नाका अनिश्चितकालका लागि बन्द छ। यस्तै, अरनिको राजमार्गका विभिन्न स्थानमा पहिरो गएपछि तातोपानी नाका पनि सञ्चालनमा छैन।
यसअघि चिनियाँ दूतावासका अधिकारीहरूले स्थलमार्गबाट तातोपानी नाकाको निरीक्षण गरेका थिए। त्यसलगत्तै राजदूत चाङ नेतृत्वको टोलीले कोरला नाका हुँदै नेपाल प्रवेश गरी नाका र सडकको अवस्थाबारे जानकारी लिएको हो।
पछिल्लो समयको भारी वर्षाका कारण कोरला जोड्ने कालीगण्डकी करिडोरका विभिन्न स्थानमा क्षति पुगेको थियो। मर्मतपछि सडक सञ्चालनमा आए पनि उत्तरी नाकासँग जोडिएको पूर्वाधारको अवस्थाबारे चिनियाँ पक्षले स्थलगत जानकारी लिन थालेको हो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।